सन् २०२५ मा महासागरले रेकर्ड ताप सोस्यो
काठमाडौँ, पुस २६ । विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ । वैज्ञानिक जर्नल ‘एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज’ मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार महासागरको तापक्रममा देखिएको यो वृद्धिले समुद्री सतहको वृद्धि, विनाशकारी आँधीबेहरी र सामुद्रिक जैविक विविधता (कोरल) नष्ट हुने जोखिमलाई अझ तीव्र बनाएको छ ।
अध्ययनअनुसार सन् २०२५ मा महासागरमा जम्मा भएको अतिरिक्त ताप करिब २३ जेटाजुलले बढेको छ । यो परिमाण झण्डै चार दशकको विश्वव्यापी प्राथमिक ऊर्जा खपत बराबर हो । आधुनिक रेकर्ड राख्न सुरु गरिएको सन् १९५० को दशकयताकै यो सबैभन्दा उच्च स्तरको महासागरीय ताप भएको वैज्ञानिकहरूले बताएका छन् ।
विश्वका ३१ अनुसन्धान संस्थामा आबद्ध ५० भन्दा बढी वैज्ञानिकहरूले हजारौँ ‘फ्लोटिङ रोबोट’ हरूको सहायताले समुद्रको सतहदेखि २ हजार मिटर गहिराइसम्मको तापक्रम र अन्य परिवर्तनहरू निरन्तर मापन गरेका थिए ।
अध्ययनकी सह–लेखक तथा फ्रान्सेली समुद्रविद् करिना भोन सकम्यानका अनुसार मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण महासागरमाथि ‘निरन्तर दबाब’ परिरहेको छ । मानव निर्मित कार्बन उत्सर्जनबाट उत्पन्न हुने अतिरिक्त तापमध्ये करिब ९० प्रतिशत महासागरले नै अवशोषण गर्ने गर्छन् । तातो महासागरले वायुमण्डलमा आद्रता बढाउँदा उष्णकटिबन्धीय चक्रवात र विनाशकारी वर्षालाई थप शक्तिशाली बनाउँछ । पानी तातिँदा फैलिने (थर्मल एक्सपान्सन) भएकाले समुद्री सतह बढ्ने प्रक्रियामा यसले प्रत्यक्ष योगदान पुर्याउँछ । यसका साथै, सामुद्रिक गर्मी छालका कारण बहुमूल्य कोरल रिफहरू (प्रवाल भित्ती) नष्ट हुने अवस्थामा पुगेका छन् ।
सन् २०२५ मा विशेषगरी भूमध्यसागर, उत्तर हिन्द महासागर, दक्षिण अटलान्टिक र दक्षिणी महासागरले रेकर्ड मात्रामा ताप अवशोषित गरेका थिए । सन् २०२३-२०२४ मा देखिएको शक्तिशाली ‘एल निनो’ प्रभावबाट ‘ला निन्या’ तर्फको सङ्क्रमणका कारण समुद्री सतहको तापक्रममा केही कमी देखिए पनि गहिराइमा भने तापक्रम बढ्ने क्रम नरोकिएको अध्ययनले पुष्टि गरेको छ ।
वैज्ञानिकहरूले चेतावनी दिँदै भनेका छन् कि जबसम्म जीवाश्म इन्धनको अत्यधिक प्रयोग र हरितगृह ग्यास उत्सर्जनलाई नियन्त्रण गरिँदैन, तबसम्म महासागरले हरेक वर्ष नयाँ रेकर्ड तोड्दै जानेछन् । समुद्रविद् भोन सकम्यानले भन्नुभयो, “अब जलवायु प्रणालीको सबैभन्दा ठूलो अनिश्चितता भौतिक विज्ञान होइन, मानवताले गर्ने उत्सर्जन कटौतीको छनोट हो ।”
तीव्र रूपमा कार्बन उत्सर्जन कटौती गर्न सके मात्र भविष्यका गम्भीर प्रभावहरूलाई सीमित गर्न सकिने वैज्ञानिकहरूको निष्कर्ष छ ।
