स्रोत नखुलेको १० लाख नगदसहित सिरहाको सीमा क्षेत्रबाट एक युवक पक्राउ

सिरहा, २७ पुस । सिरहाको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपालको टोलीले आइतबार दिउँसो चेकजाँचका क्रममा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित सीमा क्षेत्रबाट ती युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–३ मरिकटोल बस्ने २४ वर्षीय देवनाथ यादव रहेका छन्।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाबाट खटिएको टोलीले मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास (दशगजा इलाका) मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई शंका लागेर खानतलासी गरेको थियो। सो क्रममा उनको साथबाट स्रोत नखुलेको १० लाख ३ हजार ९ सय ९० नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

नगदका साथै उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका यादवलाई बरामद नगद र सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारीले सीमा क्षेत्रमा हुने अवैध कारोबार, तस्करी र स्रोत नखुलेको रकम ओसारपसार नियन्त्रण गर्न सुरक्षा जाँच र निगरानीलाई थप कडाइ गरिएको जानकारी दिए।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुण्डी कारोबार र अवैध नगद ओसारपसारका घटना बढेपछि सुरक्षा निकायले सक्रियता बढाएको छ।