‘निर्वाचन प्रहरी’मा उच्च आकर्षण: दुई दिनमै २७ हजार बढीको आवेदन, माघ १ सम्म भर्ना खुला

काठमाडौँ, २७ पुस । आगामी प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि भर्ना खुला गरिएको ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) मा युवाहरूको उच्च आकर्षण देखिएको छ। नेपाल प्रहरीले आवेदन संकलन सुरु गरेको दुई दिनमै देशभरबाट २७ हजारभन्दा बढीले दरखास्त दिएका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार पुस २५ गतेदेखि सुरु भएको आवेदन प्रक्रियाको पहिलो दुई दिनमा मात्र २७ हजारभन्दा बढीले जिल्ला प्रहरी कार्यालयहरूमा पुगेर आवेदन दिएका हुन्। यसमध्ये दोस्रो दिन अर्थात् शनिबार मात्रै १७ हजार जनाले दरखास्त बुझाएका थिए।

यस पटकको निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरिसकेको छ। इच्छुक उम्मेदवारहरूले आगामी माघ १ गतेसम्म देशभरका सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

सशस्त्र प्रहरीले पनि भर्ना गर्ने
यस पटकको निर्वाचनमा नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरी भर्ना गर्ने विशेष कोटा पाएको छ। सशस्त्र प्रहरीले जिल्ला सुरक्षा समितिमार्फत १५ हजार ११० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ।

बढ्दो बेरोजगारी र निर्वाचन सुरक्षामा सहभागी हुने उत्साहका कारण आवेदन दिनेहरूको संख्या अन्तिम दिनसम्म अझै बढ्ने अनुमान गरिएको छ। देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि आवेदन दिने युवाहरूको लामो लाइन लाग्ने गरेको छ।