विशेष महाधिवेशनको काउन्टर रणनीति बनाउँदै देउवा, ३ बजे आफू निकट नेताहरूलाई बोलाए
काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आफू निकट नेताहरूको बैठक बोलाउनुभएको छ । संस्थापन पक्षका नेताहरूसँगको यो परामर्श बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको छ ।
पार्टी नेतृत्वको असहमति र संस्थापन पक्षको बहिष्कारका बिच सुरु भएको विशेष महाधिवेशनले गति लिएपछि सभापति देउवाले आफ्नो समूहको रणनीति तय गर्न बैठक बोलाउनुभएको हो । बैठकमा विशेष महाधिवेशनले पारित गरेका निर्णयहरू र त्यसले पार्टीको विधान तथा आगामी दिशामा पार्ने प्रभावबारे केन्द्रित रहेर छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
यसअघि आजै बिहान सभापति देउवाले कानुनी पृष्ठभूमि भएका नेताहरू र कानुन व्यवसायीहरूसँग परामर्श गर्नुभएको थियो । विशेष महाधिवेशनको वैधानिकता र यसले निम्त्याउन सक्ने कानुनी तथा राजनीतिक जटिलताबारे देउवाले कानुनविद्हरूसँग राय लिनुभएको बुझिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा आज दुवै महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरिसकेका छन् । साथै, महाधिवेशन सञ्चालनका लागि छुट्टै कार्यविधिसमेत पारित भएपछि सभापति देउवा दबाबमा पर्नुभएको हो ।
विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै आउनुभएका देउवाले आजको बैठकबाट संस्थापन पक्षको औपचारिक धारणा र भावी कदमबारे ठोस निर्णय लिने अनुमान गरिएको छ । कांग्रेसभित्र संस्थापन र इतर पक्षबिचको शक्ति सङ्घर्षले उग्र रूप लिँदै जाँदा देउवाले बोलाउनुभएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।