‘इरान युद्ध र वार्ता दुवैका लागि तयार छ’ – विदेशमन्त्री

काठमाडौँ, पुस २८ । इरानका विदेशमन्त्रीले आफ्नो देश युद्ध र वार्ता दुवै विकल्पका लागि पूर्ण रूपमा तयार रहेको घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको प्रदर्शन र मानवीय क्षतिका विषयलाई लिएर बारम्बार सैन्य हस्तक्षेपको धम्की दिएपछि इरानको तर्फबाट यस्तो कडा प्रतिक्रिया आएको हो । सन् १९७९ को इस्लामिक क्रान्तिपछि वर्तमान शासन व्यवस्थाले सामना गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो र गम्भीर चुनौती मानिएको छ । आर्थिक सुधारको मागबाट सुरु भएको यो विरोध प्रदर्शन दुई हप्ताभन्दा बढी समयदेखि इरानका विभिन्न सहरहरूमा जारी छ ।

सङ्कट झन् गहिरिँदै गएपछि इरानी अधिकारीहरूले विगत ८४ घण्टादेखि देशभर इन्टरनेट सेवामा पूर्ण प्रतिबन्ध लगाएका छन् । मानवअधिकारवादी र प्रदर्शनकारीहरूले सरकारको यो कदमलाई ‘वास्तविक तथ्य लुकाउने र दमनका घटनाहरू बाहिरिन नदिने रणनीति’ को रूपमा व्याख्या गरेका छन् । इन्टरनेट ठप्प हुँदा इरानभित्रको यथार्थ अवस्था विश्व समुदायबाट टाढा रहेको छ ।

आन्दोलनका क्रममा भएको मानवीय क्षतिको विवरण भने विभिन्न स्रोतहरूबाट फरक-फरक आएका छन् । नर्वेमा आधारित इरान ह्युमन राइट्सले कम्तीमा १९२ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ । केही अपुष्ट प्रतिवेदनहरूका अनुसार मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको र २ हजार ६०० भन्दा बढी पक्राउ परेको दाबी गरिएको छ । प्रतिबन्धित विपक्षी समूह पिपुल्स मुजाहिद्दिनले भने ३ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको दाबी गरेको छ ।

अर्कोतर्फ, इरानको सरकारी सञ्चारमाध्यमले प्रदर्शनका क्रममा दर्जनौँ सुरक्षाकर्मी मारिएको जनाएको छ । सरकारले ‘दङ्गा’ मा मारिएका सुरक्षाकर्मी र नागरिकहरूको सम्मानमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । तेहरानका गभर्नर मोहम्मद सादेग मोटामेदियनले आन्दोलनको राप बिस्तारै घट्दै गएको दाबी गर्नुभएको छ ।

सोमबार तेहरानमा सरकार समर्थित र्‍यालीहरू पनि निकालिएका छन्, जसलाई सरकारी मिडियाले ‘जनताको शासनप्रतिको समर्थन’ का रूपमा चित्रण गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले भने इरानलाई संयमता अपनाउन र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *