सेयर बजारमा झिनो सुधार: नेप्से ५ अङ्कले बढ्दा झण्डै ७ अर्बको कारोबार

काठमाडौँ, २९ पुस । साताको तेस्रो कारोबार दिन मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से सूचक ४.९० अङ्कले बढेर २६३९.९१ विन्दुमा रोकिएको छ।

बजारमा झिनो सुधार आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३४९ कम्पनीका १ करोड ३६ लाख कित्ता सेयर ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँमा किनबेच भएको छ। कारोबार भएकामध्ये ११८ कम्पनीको मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

आज थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै दोर्दी खोला र सुपर मादी हाइड्रोपावरको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। अर्कोतर्फ, रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ६.०९ प्रतिशत गुमाएका छन्।

क्षेत्रगत रूपमा हेर्दा आज जलविद्युत् (हाइड्रो) समूहमा १.०२ प्रतिशतको सुधार देखिएको छ। कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी ५४ करोड ६५ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहन सफल भयो।