इरानमा प्रदर्शनपछि सञ्चार सेवा आंशिक सुचारु: तेहरानमा उच्च सुरक्षा सतर्कता

काठमाडौँ, पुस २९ । इरानमा हालै भएको देशव्यापी प्रदर्शन र त्यसपछिको कडा सुरक्षाका कारण अवरुद्ध बनेको सञ्चार सेवा झन्डै साढे चार दिनपछि आंशिक रूपमा सुचारु हुन थालेको छ । राजधानी तेहरानसहितका मुख्य सहरहरूमा इन्टरनेट र फोन सेवा बिस्तारै सञ्चालनमा आएसँगै नागरिकहरूले पहिलो पटक बाहिरी संसारसँग सम्पर्क गर्न थालेका छन् ।

तेहरानका स्थानीय बासिन्दाका अनुसार मोबाइल फोनबाट अन्तर्राष्ट्रिय कल गर्न सकिए पनि सन्देश (एसएमएस) सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन। इन्टरनेट सेवा भने अझै पनि सरकारी नियन्त्रणमा रहेको र केही स्वीकृत वेबसाइटहरूमा मात्र पहुँच सीमित गरिएको छ । लामो समयको सञ्चार विच्छेद पछि बाह्य विश्वसँग सम्पर्क हुँदा नागरिकहरूले तेहरानमा देखिएको कडा सुरक्षा र प्रदर्शनका क्रममा भएको भौतिक क्षतिका विवरण साझा गर्न थालेका छन् ।

राजधानीका प्रमुख चोक र सडकहरूमा दङ्गा नियन्त्रण प्रहरी र सादा पोसाकका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । प्रदर्शनका क्रममा आक्रोशित भीडले केही बैंक तथा सरकारी कार्यालयहरूमा आगजनी गरेको र एटीएम मेसिनहरूमा क्षति पुर्‍याएको पाइएको छ । इन्टरनेट बन्द हुँदा बैंकिङ सेवा पूर्ण रूपमा ठप्प भएको थियो, जसको असर अहिले पनि देखिन थालेको छ ।

बजार र पसलहरू बिस्तारै खुल्न थाले पनि ग्राहकहरूको उपस्थिति भने निकै न्यून छ। कतिपय पसलेहरूले सुरक्षाकर्मीको आग्रहमा पसल खोलेको बताएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको ज्यान गएको र कैयौँलाई पक्राउ गरिएको दाबी गरेका छन् । यद्यपि, इरानी सरकारले हालसम्म मृत्यु हुने र पक्राउ पर्नेहरूको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन ।

आन्तरिक अशान्तिका बिच इरानी अधिकारीहरूले अमेरिकासँग कूटनीतिक संवाद जारी रहेको बताएका छन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने मुलुकहरूबारे नयाँ आर्थिक उपाय (प्रतिबन्ध) घोषणा गर्नुभएको छ, जसले गर्दा इरानको अर्थतन्त्रमा थप दबाब पर्ने देखिएको छ । अमेरिकी पक्षले इरानको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र आवश्यक परे कडा विकल्प अपनाउन सक्ने चेतावनी दिएको छ ।

इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा सुचारु नभएकाले इरानभित्रको वास्तविक अवस्था र क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही समय लाग्ने देखिएको छ । नागरिकहरूले दिएका प्रतिक्रियाअनुसार देशको समग्र अवस्था अझै पनि अत्यन्त संवेदनशील र तनावपूर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *