अमेरिकी अध्यागमन हिरासतमा आप्रवासीको मृत्युदरमा तीव्र वृद्धि : सन् २०२५ दुई दशककै घातक वर्ष

काठमाडौँ, पुस ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइसिई) को हिरासतमा रहेका आप्रवासीहरूको मृत्यु हुने सङ्ख्यामा चिन्ताजनक वृद्धि भएको छ । पछिल्लो तथ्याङ्कअनुसार सन् २०२५ लाई दुई दशकयताकै सबैभन्दा घातक वर्षका रूपमा रेकर्ड गरिएको छ भने सन् २०२६ को प्रारम्भिक दिनहरूमा पनि यो क्रम जारी देखिएको छ ।

आइसिईले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को पहिलो १० दिनभित्रै हिरासतमा रहेका चार जना आप्रवासीको मृत्यु भइसकेको छ । जनवरी ९ र १० को बीचमा मात्रै तीन जनाले ज्यान गुमाएका थिए । मृतकहरू ४२ देखि ६८ वर्ष उमेर समूहका पुरुषहरू हुन्, जसमा दुई जना होन्डुरसका तथा एक–एक जना क्युबा र कम्बोडियाका नागरिक रहेका छन् । एजेन्सीका अनुसार दुई जनाको मृत्यु मुटुसम्बन्धी समस्याका कारण भएको हो भने बाँकीको कारण स्पष्ट पारिएको छैन ।

सन् २०२५ मा आइसिई हिरासतमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो, जुन सन् २००४ मा यो निकाय स्थापना भएपछिकै उच्च सङ्ख्या हो । यो सङ्ख्या पूर्ववर्ती बाइडेन प्रशासनको चार वर्षे कार्यकाल (सन् २०२१-२०२५) मा भएको कुल २६ मृत्युको तुलनामा पनि बढी हो । हिरासतमा रहेका व्यक्तिको सङ्ख्यामा भएको उल्लेख्य वृद्धिले मृत्युदर बढाएको विश्लेषण गरिएको छ । डिसेम्बर २०२३ मा करिब ३६ हजार रहेको बन्दीको सङ्ख्या डिसेम्बर २०२५ सम्म आइपुग्दा झन्डै दोब्बर भई ६८ हजार नाघेको छ ।

यसैबीच, मिनियापोलिसमा भएको एक प्रदर्शनका क्रममा सुरक्षा कारबाहीमा एक व्यक्तिको मृत्यु भएपछि आइसिईले अपनाउँदै आएको कडा र टकरावपूर्ण रणनीतिको सर्वत्र आलोचना भइरहेको छ । मानवअधिकारवादी संस्थाहरूले हिरासत केन्द्रभित्रको कमजोर स्वास्थ्य सेवाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकन सिभिल लिबर्टीज युनियन (एसिएलयु) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हिरासतमा हुने करिब ९५ प्रतिशत मृत्यु उचित र समयसापेक्ष चिकित्सा हेरचाह उपलब्ध गराएको भए रोक्न सकिने खालका थिए । चिकित्सा विज्ञहरूले आइसिई हिरासतमा स्वास्थ्योपचारमा हुने अत्यधिक ढिलाइ र अनुपयुक्त उपचार पद्धतिलाई मुख्य समस्याका रूपमा औँल्याउँदै आएका छन् । यसले अमेरिकी अध्यागमन प्रणालीभित्रको मानवीय सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *