ग्रिनल्यान्डमा नाटोको सैन्य तैनाथीप्रति रुसद्वारा गम्भीर चिन्ता व्यक्त
काठमाडौँ, माघ १ । खनिज स्रोतले सम्पन्न आर्कटिक टापु ग्रिनल्यान्डमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का सदस्य राष्ट्रहरूको बढ्दो सैन्य उपस्थितिप्रति रुसले गम्भीर चिन्ता व्यक्त गरेको छ । नाटोको पछिल्लो तैनाथीले आर्कटिक क्षेत्रको सुरक्षा सन्तुलनलाई थप जटिल र जोखिमपूर्ण बनाउने मस्कोको ठहर छ ।
हालै फ्रान्स, स्विडेन, जर्मनी र नर्वेले ग्रिनल्यान्डको राजधानी नुकमा जासुसी तथा अनुगमन मिसनका लागि आफ्ना सैन्य कर्मचारीहरू तैनाथ गर्ने संयुक्त घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने चेतावनी दिइरहेका बेला वासिङ्टनमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको त्रिपक्षीय वार्ताले कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि नाटो सदस्य राष्ट्रहरूको यो कदम सार्वजनिक भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी सुरक्षाका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण क्षेत्रका रूपमा चित्रण गर्दै आउनुभएको छ । उहाँले यदि अमेरिकाले यस टापुलाई आफ्नो नियन्त्रणमा नलिए चीन वा रुसले कब्जा गर्न सक्ने दाबी गर्दै आउनुभएको छ ।
बेल्जियमस्थित रुसी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उच्च अक्षांश (आर्कटिक) क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम हाम्रा लागि गम्भीर चिन्ताको विषय बनेको छ ।” नाटोले मस्को र बेइजिङबाट सुरक्षा खतरा बढेको ‘झूटो बहाना’ बनाएर यस क्षेत्रमा आफ्नो सैन्य शक्ति विस्तार गरिरहेको रुसको आरोप छ ।
हालसम्म रुसी विदेश मन्त्रालय वा क्रेमलिनले यस विषयमा कुनै आधिकारिक प्रत्यक्ष टिप्पणी नगरे तापनि दूतावासको विज्ञप्तिले मस्कोको कडा असन्तुष्टि व्यक्त गरेको छ । जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रको बरफ पग्लिँदै जाँदा यो क्षेत्र नयाँ अन्तर्राष्ट्रिय ढुवानी मार्ग र खनिज उत्खननका लागि खुला हुँदै गएको छ, जसले गर्दा विश्व शक्ति राष्ट्रहरूबीच रणनीतिक प्रतिस्पर्धा तीव्र बनेको विश्लेषकहरूको भनाइ छ ।
रुसी दूतावासले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिका कारण दोस्रो विश्वयुद्धपश्चात्कै सबैभन्दा बलियो मानिएको नाटो गठबन्धनभित्र समेत अभूतपूर्व तनाव र आन्तरिक मतभेद सिर्जना भएको टिप्पणी गरेको छ । ग्रिनल्यान्डको विषयलाई लिएर गठबन्धनभित्र देखिएको असहमतिले अन्तर्राष्ट्रिय निर्णय प्रक्रियालाई थप अप्रत्याशित बनाएको रुसको बुझाइ छ ।
