विशेष महाधिवेशनको नाममा विधान विपरीत गतिविधि गरियो : पूर्णबहादुर खड्का

काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा पार्टीको विधान विपरीतका गतिविधिहरू भइरहेको आरोप लगाएका छन्।

पार्टीभित्रको आन्तरिक विवाद र विभाजनको प्रक्रियाका बीच शुक्रबार सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै खड्काले उक्त टिप्पणी गरेका हुन्। उनले विधान मिचेर बोलाइएको भेलाको वैधानिकताका सम्बन्धमा आफूहरूले निर्वाचन आयोग पुगेर गम्भीर ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिए।

पत्रकारहरूसँग कुरा गर्दै कार्यवाहक सभापति खड्काले भने, ‘पार्टीको विधानले कुनै पनि तहको महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ। केन्द्रीय समितिबाहेक अरू कसैले पनि महाधिवेशन वा विशेष महाधिवेशनका नाममा भेला बोलाउनु पूर्णतः अवैधानिक हो।’

उनले संस्थापन पक्षले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको दाबी गर्दै आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका समेत ल्याइएको बताए। “हामीले सर्वसम्मत रूपमा आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेका छौँ र सोही अनुसार कार्यतालिका अघि बढेको छ,” खड्काले स्पष्ट पारे।

सोही अवसरमा उनले महामन्त्री गगन थापामाथि महाधिवेशनको कार्यतालिका प्रभावित पारेको आरोप समेत लगाए। खड्काका अनुसार, गगन थापाले समयमै क्रियाशील सदस्यताको विवरण बुझाउन नसक्दा अघिल्लो पटक तय गरिएको महाधिवेशनको तालिका प्रभावित भएको हो।

आफूहरूको जानकारीबिना र विधानको मर्मविपरीत नियमित महाधिवेशन स्थगित गरेर ‘विशेष महाधिवेशन’ आह्वान गरिनु पार्टी पद्धतिमाथिको प्रहार भएको उनको जिकिर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *