भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

काठमाडौँ, २ माघ । भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा कोषले सो रकम जम्मा गरेको हो।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। सोही क्षतिलाई दृष्टिगत गर्दै सरकारले पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि उक्त विशेष कोष खडा गरेको हो।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए।

अर्थ मन्त्रालयका अनुसार यो कोषमा हालसम्म १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको छ। आन्दोलनबाट भएको क्षतिको यकिन विवरण संकलन गरी पुनर्निर्माणको कामलाई तीव्रता दिने सरकारको योजना छ।