काठमाडौँका यी स्थानमा आज ३ घण्टा बिजुली कटौती हुँदै : यस्तो छ तालिका र प्रभावित क्षेत्र

काठमाडौँ, ३ माघ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा विद्युत् प्रणाली सुदृढीकरण र भूमिगत केबल जडान कार्यका लागि बिजुली कटौती गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म ३ घण्टाका लागि निम्न स्थानहरूमा विद्युत् सेवा अवरुद्ध हुनेछ:
प्रभावित हुने मुख्य क्षेत्रहरू:
साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट र पानीपोखरीका विभिन्न क्षेत्रहरू ।
महाराजगञ्ज र त्रिवि शिक्षण अस्पताल (टीचिंग) आसपासका क्षेत्र ।
राष्ट्रपति भवन (शितल निवास) परिसर ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्र ।
बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रहरू

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य गरिरहेको छ । भूमिगत कार्य सम्पन्न भइसकेका केबलहरूमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले सुरक्षाका लागि विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा २ बजेभन्दा पहिल्यै पनि बिजुली आपूर्ति हुन सक्ने जानकारी दिएको छ ।