भेनेजुएलाका उद्योगमन्त्री अलेक्स साब पदमुक्त : मन्त्रालयहरू गाभिने
काठमाडौँ, माघ ३ । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले पूर्व शासक निकोलस मदुरोका अत्यन्त निकट मानिने उद्योगमन्त्री अलेक्स साबलाई पदबाट बर्खास्त गर्नुभएको छ । राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जाल ‘टेलिग्राम’ मार्फत उक्त निर्णयको जानकारी दिँदै उद्योग मन्त्रालयलाई अब वाणिज्य मन्त्रालयसँग गाभिने बताउनुभयो । कोलम्बियामा जन्मेका व्यापारी साबलाई ‘मातृभूमिको सेवाका लागि धन्यवाद’ दिँदै भविष्यमा नयाँ जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ ।
गत जनवरी ३ मा अमेरिकी सेनाको सहयोगमा भएको कारबाहीपछि मदुरो सत्ताच्युत भएसँगै भेनेजुएलामा नयाँ राजनीतिक फेरबदल सुरु भएको हो। वासिङ्टनको चर्को दबाब र सत्ता परिवर्तनपछिको पुनर्संरचनाका क्रममा साबलाई हटाइएको विश्लेषण गरिएको छ ।
अलेक्स साबलाई समाजवादी नेता निकोलस मदुरोको विश्वासपात्र मानिन्छ । उहाँमाथि मदुरो सरकारका लागि सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) गरेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न सहयोग गरेको आरोप लाग्दै आएको थियो । सन् २०२० मा इन्टरपोलको सूचनाका आधारमा केप भर्डेबाट पक्राउ परेका साबलाई पछि अमेरिका सुपुर्दगी गरिएको थियो । उहाँमाथि भेनेजुएलाका लागि लक्षित खाद्य सहायता कार्यक्रममा भ्रष्टाचार गरेको गम्भीर आरोप समेत छ। सन् २०२३ मा अमेरिका र भेनेजुएला बिच भएको कैदी साटासाट सम्झौताअन्तर्गत उहाँ रिहा हुनुभएको थियो र सन् २०२४ मा उद्योग मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएपछि भेनेजुएलाको अन्तरिम नेतृत्वका रूपमा पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई समर्थन गर्नुभएको छ। यद्यपि, विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो देशमा ‘वास्तविक प्रजातान्त्रिक सङ्क्रमण’ सुरु भएको र संयुक्त राज्य अमेरिकाको सहयोगमा भेनेजुएला पूर्ण रूपमा स्वतन्त्र हुने विश्वास व्यक्त गर्नुभएको छ ।
तत्कालका लागि राष्ट्रपति ट्रम्पले नोबेल पुरस्कार विजेता मचाडोलाई नेतृत्व दिने चर्चालाई पन्छाउँदै रोड्रिगेजकै नेतृत्वमा सङ्क्रमणकालीन सरकारलाई अघि बढाउने सङ्केत दिनुभएको छ ।
