राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु : बानेश्वरको भवन ध्वस्त भएपछि सिंहदरबारमा बस्दै बैठक

काठमाडौँ, ४ माघ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको १९औँ अधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे अनुसार आज बिहान ११ बजेदेखि अधिवेशन सुरु हुन लागेको हो ।

यसपटकको अधिवेशन नयाँ बानेश्वरस्थित नियमित संसद् भवनको सट्टा सिंहदरबारभित्र रहेको संघीय संसद् सचिवालयको हलमा सञ्चालन हुनेछ । केही समयअघि भएको ‘जेन्जी’ आन्दोलनका क्रममा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जलेर ध्वस्त भएकाले सिंहदरबारमा बैठकको व्यवस्था मिलाइएको हो ।

संसद् सचिवालयका अनुसार आजको पहिलो बैठकमा निम्न कार्यसूचीहरू तय गरिएका छन्:
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने ।
हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत र पारित गर्ने ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनका लागि आवश्यक सबै प्राविधिक र व्यवस्थापकीय तयारी पूरा भएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर अधिवेशनको एजेन्डा र सञ्चालन प्रक्रियाबारे छलफल गर्नुभएको थियो ।

यसअघि भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले माघ ४ गतेका लागि यो अधिवेशन आह्वान गर्नुभएको हो ।