उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम टुंगो लगाउन आज संसदीय बोर्डको बैठक बोलाएको छ। सभापति गगन थापाले बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएको हो।

पार्टीभित्रका विभिन्न पक्षहरूलाई मिलाएर टिकट वितरण गर्ने तयारीका साथ यो बैठक बस्न लागेको हो। संसदीय बोर्डका एक सदस्यका अनुसार सबै गुट र पक्षको भावना समेटेर सहमतिमै उम्मेदवार चयन गरिनेछ। बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री सहभागी रहनेछन्।

विशेष गरी पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षलाई समेट्ने गरी गृहकार्य भइरहेको छ। टिकट वितरणमा देखिएको विवाद सुल्झाउन र सम्मानजनक भागबन्डा मिलाउन शीर्ष नेताहरू हिजोदेखि नै निरन्तर संवादमा जुटेका छन्।

आजको बैठकले आकांक्षीहरूको नामावलीमाथि छलफल गर्दै उम्मेदवारहरूको अन्तिम सूची तयार पार्ने कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *