गृहजिल्ला पुगेर ओलीले भने, जस्तोसुकै परिस्थितिमा पनि एमाले चुनावमा होमिन्छ’
झापा, ५ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट कहिल्यै पछि नहट्ने स्पष्ट पार्नुभएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि सोमबार गृहजिल्ला झापा पुग्नुभएका ओलीले जुनसुकै अवस्थामा पनि एमाले चुनावी मैदानमा होमिन तयार रहेको बताउनुभएको हो।
चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “एमाले लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो। त्यसैले निर्वाचनलाई हामी उत्सवका रूपमा लिन्छौँ। सरकारले शान्तिसुरक्षाको अवस्था मजबुत बनाउनुपर्छ र निर्वाचन निष्पक्ष तथा भयरहित हुनुपर्छ।”
निर्वाचन कार्यतालिका अनुसार भोलि माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुने कार्यक्रम छ। अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ बाटै आफ्नो उम्मेदवारी दर्ता गराउनुहुनेछ। मनोनयनका लागि एमालेले झापामा शक्ति प्रदर्शनको समेत तयारी गरेको छ। जिल्ला अध्यक्ष प्रेम गिरीका अनुसार झापा बसाइका क्रममा ओलीले विभिन्न चुनावी सभा, कार्यकर्ता भेला र बैठकहरूलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।