आन्तरिक दमन र मानवअधिकार उल्लंघनका कारण इरानी विदेशमन्त्रीको डाभोस सहभागिता रद्द
काठमाडौँ, माघ ५ । स्विट्जरल्यान्डको डाभोसमा आयोजना हुन लागेको विश्व आर्थिक मञ्च (डब्लुईएफ) को वार्षिक शिखर सम्मेलनमा इरानका विदेशमन्त्री अब्बास अराघची सहभागी नहुने भएका छन् । इरानमा पछिल्लो समय जारी आन्तरिक दमन र नागरिकहरूको ज्यान जाने गरी भएका हिंसात्मक घटनाहरूका कारण इरानी सरकारको प्रतिनिधित्वलाई यस वर्षका लागि अनुपयुक्त ठहर गर्दै आयोजकले सहभागिता रद्द गरेको हो ।
विश्व आर्थिक मञ्चले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विदेशमन्त्री अराघची डाभोसमा सहभागी नहुने पुष्टि गरेको छ। मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विदेशमन्त्री अराघचीलाई गत शरद ऋतुमा सम्मेलनका लागि आमन्त्रित गरिएको थियो । तर, विगत केही हप्ताहरूमा इरानमा नागरिकहरूले ज्यान गुमाउनुपरेको गम्भीर परिस्थितिमा इरानी सरकारको प्रतिनिधित्व हुनु उचित नहुने निष्कर्षमा हामी पुगेका छौँ ।”
इरानमा आर्थिक कठिनाइका विरुद्ध सुरु भएको प्रदर्शन डिसेम्बरको अन्त्यदेखि राजनीतिक विद्रोहमा परिणत भएको छ । यसलाई इरानी नेतृत्वका लागि पछिल्लो समयकै सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरूले इरानमा भएको सरकारी दमनलाई ‘नरसंहार’ को संज्ञा दिँदै विदेशमन्त्री अराघचीलाई शिखर सम्मेलनमा प्रवेश नदिन व्यापक दबाब दिँदै आएका थिए ।
नर्वेस्थित संस्था ‘इरान ह्युमन राइट्स’ ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुरक्षा फौजको दमनमा परी हालसम्म ३ हजार ४२८ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सो संस्थाले स्वास्थ्यकर्मी, प्रत्यक्षदर्शी र स्वतन्त्र स्रोतहरूका आधारमा यो सङ्ख्या पुष्टि गरेको दाबी गरेको छ। यद्यपि, इरानमा सञ्चार माध्यम र इन्टरनेटमा लगाइएको कडा प्रतिबन्धका कारण मृतकको वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।
जनवरी ८ देखि उग्र बनेको सरकारविरोधी प्रदर्शन पछिल्लो एक सातादेखि केही शान्त देखिए पनि इरानी अधिकारीहरूले हालसम्म मारिएका नागरिकहरूको यकिन सङ्ख्या सार्वजनिक गरेका छैनन् । सञ्चार सेवा पूर्ण रूपमा पुनः स्थापित नहुँदा स्वतन्त्र रूपमा सूचना सङ्कलन गर्न अझै कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
