अराजकताको आयु लामो हुँदैन, अपराधीहरू कानुनी दायरामा आउँछन् : एमाले अध्यक्ष ओली
दमक (झापा), ८ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा बढ्दै गएको अराजकता र विध्वंसात्मक गतिविधि धेरै दिन नटिक्ने बताउनुभएको छ । झापाको दमकमा ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको माओवादी नेता गगन पुरीको घर अवलोकन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
बिहीबार दमक–८ स्थित पुरीको निवास पुग्नुभएका अध्यक्ष ओलीले अपराधीहरू ढिलोचाँडो कानुनी दायरामा आउने र सजाय पाउने विश्वास दिलाउनुभयो ।
आगजनीबाट क्षतिग्रस्त घरको अवलोकनपछि पुरीलाई आश्वस्त पार्दै ओलीले भन्नुभयो, “सधैँ अराजकता कहाँ टिक्छ र? यस प्रकारको विध्वंस मच्चाउनेहरूलाई एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ । तपाईँले उजुरी र निवेदन लगायतका कानुनी प्रक्रियालाई भने दृढताका साथ अगाडि बढाउनुहोला ।”
सो क्रममा नेता पुरीले आफूले घटनाका सबै प्रमाणहरू सङ्कलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया सुरु गरिसकेको जानकारी अध्यक्ष ओलीलाई दिनुभएको थियो । उहाँले आगजनीका क्रममा घरका सबै सामान लुटिएको र जलाइएको बताउनुभयो । अहिले पुरी सामान्य मर्मत गरिएको सोही घरमा बस्दै आउनुभएको छ ।
पुरीको घर अवलोकन गरिसकेपछि अध्यक्ष ओलीले दमकस्थित तत्कालीन माओवादीको पार्टी कार्यालयको समेत अवलोकन गर्नुभएको थियो । दमकका कार्यक्रम सकेर उहाँ आजै गौरादहतर्फ लाग्नुभएको छ ।