पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : जाजरकोट र डडेलधुरामा सबैभन्दा बढी वर्षा

काठमाडौँ,  माघ १० । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालको पश्चिम क्षेत्रसहित विभिन्न जिल्लाहरूमा शुक्रबार साँझदेखि वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि सक्रिय भएको यो प्रणाली शनिबार दिनभर कायम रहे पनि अपराह्नबाट वर्षा रोकिएको छ।

विभागको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा बढी वर्षा जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८.८ मिलिमिटर मापन गरिएको छ । यसलाई विभागले ‘मध्यम वर्षा’ को रूपमा वर्गीकरण गरेको छ ।

बैतडीमा  २६ मिलिमिटर, डोटीमा  २० मिलिमिटर, कालीकोटमा  १९.४ मिलिमिटर, दार्चुलामा  १७.८ मिलिमिटर, बझाङमा  १६.२ मिलिमिटर, दैलेखमा  १४.३ मिलिमिटर, डोल्पामा  १३.५ मिलिमिटर, जुम्लामा  १२.७ मिलिमिटर, मुगुमा  १२ मिलिमिटर र  कञ्चनपुरर  ९.४ मिलिमिटर बर्षा भयो । 

यसका साथै बागलुङ, म्याग्दी, रुकुम पूर्व, रोल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत र गुल्मी लगायतका जिल्लाहरूमा पनि हल्का वर्षा र हिमपात भएको छ ।

अहिलेको अवस्था र पूर्वानुमान
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल मौसम बदली गराउने प्रणाली कमजोर बन्दै गएको छ। यद्यपि, उच्च पहाडी तथा हिमाली भू-भागमा छिटपुट वर्षा र हिमपातको क्रम आइतबारसम्मै जारी रहने सम्भावना छ ।

आगामी २४ घण्टाको मौसम

शनिबार राति : कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना छ। अन्य भू-भागमा आंशिक बदली रहनेछ।

आइतबार : कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ।

तराई क्षेत्र: पूर्वी र मध्य तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने हुनाले यात्रा र चिसोबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।