३ दिनदेखि बेपत्ता प्रहरी जवान जङ्गलमा मृत फेला: बिदा नपाउँदा आत्महत्या गरेको परिवारको आरोप
दाङ, ११ माघ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान तीन दिनको खोजीपछि जङ्गलमा मृत अवस्थामा फेला परेका छन् ।
घोराही-२ रामपुर निवासी प्रहरी जवान हरि जिसी घोराही-१८ स्थित घरडौराको जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिप्रका दाङमा चालकका रूपमा कार्यरत जिसी गत माघ ८ गते बिहानको ड्युटी सकेर आफ्नो स्कुटीसहित निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनको व्यापक खोजतलास गर्ने क्रममा आज शव फेला परेको हो ।
पारिवारिक स्रोतका अनुसार मृतक जिसीका बुबा बिरामी भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिए । बुबाको हेरचाहका लागि उनले कार्यालयमा पटक-पटक बिदा माग गरे पनि बिदा नपाएको परिवारको दाबी छ । बिदा नपाएकै कारण मानसिक तनावमा परेर उनले यस्तो निर्णय लिएको हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले घटनाको पुष्टि गर्दै शवको पोस्टमार्टम भइसकेको जानकारी दिएका छन् । “शव फेला परेपछि हामीले कानुनी प्रक्रिया अगाडि बढाएका छौं,” एसपी श्रेष्ठले भने, “मृतकको मोबाइल लक रहेकाले त्यसलाई खोल्ने प्रयास भइरहेको छ । मोबाइलको विवरण प्राप्त भएपछि आत्महत्याको वास्तविक कारण खुल्नेछ ।”