निर्वाचन लक्षित एमालेको ‘मेगा’ अपरेसन: अध्यक्ष ओलीको पत्र बोकेर १२ लाख कार्यकर्ता मैदानमा
काठमाडौं, ११ माघ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले साढे ६ लाखभन्दा बढी संगठित सदस्यहरूलाई व्यक्तिगत रूपमा ‘हस्ताक्षरसहितको सन्देश पत्र’ पठाउँदै चुनावी मैदानमा होमिन निर्देशन दिनुभएको छ।
शनिबार साँझदेखि नै एमालेका ६ लाख ६२ हजार ९ सय ६१ संगठित सदस्यहरूको मोबाइलमा अध्यक्ष ओलीको फोटो र डिजिटल हस्ताक्षरसहितको सन्देश पुग्न थालेको छ। ११ औं महाधिवेशनसम्मको अद्यावधिक तथ्याङ्कका आधारमा पार्टीको आईटी विभागले यो ‘डिजिटल क्याम्पियन’ सुरु गरेको हो।
अध्यक्ष ओलीले प्रत्येक कार्यकर्तालाई नामै सम्बोधन गरेर पठाइएको पत्रमा आसन्न निर्वाचनलाई ‘देश निर्माण र विनाशबीचको फैसला’ का रूपमा चित्रण गर्नुभएको छ। पत्रमा भनिएको छ– “देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ। अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु।”
१२ लाख ६९ हजार कार्यकर्ताको ‘फिल्ड फौजी’
एमालेले केन्द्रदेखि टोल तहसम्मका ६४ हजार ७ सय ६ वटा कमिटीमार्फत करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्यहरूलाई प्रत्यक्ष चुनावी कमान्डमा खटाएको छ। यसमध्ये साढे ६ लाख संगठित सदस्य हुन् भने बाँकी विभिन्न कमिटी र जनसंगठनमा आबद्ध कार्यकर्ता हुन्।
प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार पार्टीका नेता-कार्यकर्ताहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएपछि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय अहिले सुनसान जस्तै छ। “अध्यक्षको सन्देशले तल्लो तहका कार्यकर्ता र मतदातामा नयाँ उत्साह थपेको छ,” शाहीले भन्नुभयो।
प्रदेशगत कमिटी संरचनाको अवस्था:
एमालेले सातै प्रदेशमा आफ्नो सांगठनिक संरचनालाई यसरी परिचालन गरेको छ:
बागमती प्रदेश: सबैभन्दा धेरै १५,४५१ कमिटी (१४,२०६ टोल कमिटीसहित)।
लुम्बिनी प्रदेश: १०,३७१ कमिटी (९,२६७ टोल कमिटी)।
कोशी प्रदेश: ८,४०८ कमिटी (७,१०१ टोल कमिटी)।
मधेस प्रदेश: ७,९३० कमिटी।
कर्णाली प्रदेश: ७,२६० कमिटी।
सुदूरपश्चिम प्रदेश: ६,६८१ कमिटी।
गण्डकी प्रदेश: ६,४१५ कमिटी।
यसबाहेक प्रवासतर्फ भारत र अन्य देशहरूमा गरी करिब ७ सय भन्दा बढी कमिटीहरू सक्रिय छन्।
तथ्याङ्क अनुसार जिल्ला तहमा ९,७७४ जना, पालिका तहमा ४१,६३३ जना र वडा तहमा १,७४,२४५ जना नेता-कार्यकर्ता चुनावी कमान्ड सम्हालिरहेका छन्। सबैभन्दा ठूलो हिस्सा टोल कमिटीमा छ, जहाँ २ लाख १ हजारभन्दा बढी कार्यकर्ता परिचालित छन्।
आईटी विभागका अनुसार केही सदस्यहरूको मोबाइल नम्बर परिवर्तन भएको र सिस्टममा प्राविधिक चाप परेका कारण सबै सदस्यकोमा सन्देश पुग्न केही समय लाग्ने देखिएको छ। पार्टीले यसपटकको निर्वाचनमा ‘बहुमत’ लाई मुख्य लक्ष्य बनाएर प्रविधि र जनशक्ति दुवैलाई उच्चतम् प्रयोग गरिरहेको देखिन्छ।