चन्द्र नव वर्षमा जापान भ्रमण नगर्न चिनियाँ नागरिकलाई बेइजिङको चेतावनी

काठमाडौँ, मंसिर १२ । चीन सरकारले आगामी चन्द्र नयाँ वर्षको बिदाका अवसरमा जापान भ्रमण नगर्न आफ्ना नागरिकहरूलाई औपचारिक चेतावनी जारी गरेको छ । टोकियो र बेइजिङबीच बढ्दो कूटनीतिक तनाव र जापानमा सार्वजनिक सुरक्षाको अवस्था कमजोर हुँदै गएको उल्लेख गर्दै चीनले सोमबार यस्तो आग्रह गरेको हो ।

चीनको विदेश मन्त्रालयअन्तर्गतको कन्सुलर मामिला विभागले जारी गरेको विज्ञप्तिअनुसार हालैका दिनहरूमा जापानमा चिनियाँ नागरिकहरूलाई लक्षित गरी अवैध तथा आपराधिक गतिविधिहरू बढ्दै गएका छन् । विशेष गरी फेब्रुअरीमा पर्ने नौ दिने लामो चन्द्र नववर्षको बिदाका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो यात्रा चेतावनी (ट्राभल एडभाइजरी) जारी गरिएको हो ।

यसअघि, ताइवानसम्बन्धी विषयमा जापानी नेतृत्वबाट आएको अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको थियो । चीनले उक्त अभिव्यक्तिलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथिको सिधा चुनौतीका रूपमा व्याख्या गर्दै आएको छ । कूटनीतिक विवादकै बीच बेइजिङले आफ्ना नागरिकहरूलाई जापान यात्रामा पुनर्विचार गर्न बारम्बार आग्रह गर्दै आएको छ ।

चीनले सुरक्षा चासोसँगै जापानका केही क्षेत्रमा हालै गएका शृङ्खलाबद्ध भूकम्प र त्यसबाट भएको मानवीय क्षतिका कारण पनि सुरक्षा जोखिम बढेको जनाएको छ । प्राकृतिक प्रकोप र बिग्रँदो सुरक्षा स्थितिका कारण जापानी भूमि चिनियाँ पर्यटकका लागि सुरक्षित नरहेको बेइजिङको दाबी छ ।

चिनियाँ सरकारको निरन्तरको चेतावनीका कारण जापानको पर्यटन बजारमा प्रत्यक्ष असर देखिन थालेको छ। प्राप्त तथ्याङ्कअनुसार, गत महिना जापान भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले घटेर तीन लाख तीस हजारमा सीमित भएको छ । जापानको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो नौ महिनामा करिब ७५ लाख चिनियाँ पर्यटकले जापान भ्रमण गरेका थिए ।  जापानी मुद्रा ‘येन’ कमजोर हुँदा चिनियाँ पर्यटकहरू आकर्षित भएका थिए र उनीहरूले तेस्रो त्रैमासिकमा मात्रै ३ अर्ब ७० करोड अमेरिकी डलर बराबरको खर्च गरेका थिए। तर, पछिल्लो तनावले यो आर्थिक लाभलाई सङ्कटमा पारेको छ ।

चन्द्र नयाँ वर्षको अवसरमा ठूलो सङ्ख्यामा चिनियाँ नागरिकहरू आन्तरिक तथा अन्तर्राष्ट्रिय भ्रमणमा निस्कने गर्दछन् । तर, सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पछिल्लो सुरक्षा चिन्ता र सरकारी चेतावनीका कारण यस वर्ष जापान जाने चिनियाँहरूको सङ्ख्यामा उल्लेख्य कमी आउने निश्चित छ । यसले जापानको पर्यटन उद्योगमा ठूलो धक्का पुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *