पश्चिमी वायुको प्रभावले आज वर्षा र हिमपातको सम्भावना, कर्णाली र सुदूरपश्चिममा चट्याङसहित पानी पर्ने
काठमाडौँ, १३ माघ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा वर्षा, हिमपात र मेघगर्जनसहितको चट्याङको सम्भावना रहेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र गण्डकीको एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसममा उल्लेख्य परिवर्तन आउने देखिएको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार राति कर्णाली र सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा मध्यम वर्षा तथा तराईका केही स्थानमा हल्का वर्षा हुनेछ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
पश्चिमी वायुको सक्रियतासँगै वर्षा र हिमपात हुँदा देशभर चिसो बढ्ने अनुमान गरिएको छ । पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक तयारी र सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।