भक्तपुरमा ५७ उम्मेदवार चुनावी मैदानमा: सरगर्मीकै बीच ‘अवैध प्लटिङ’ र ‘भू-माफिया’ मुख्य मुद्दा, ठूला दलमाथि मिलेमतोको आरोप

भक्तपुर, १३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुरमा चुनावी सरगर्मीसँगै ‘अवैध प्लटिङ’ र ‘प्राकृतिक दोहन’ को विषयले राजनीतिक माहौल तताएको छ। भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकै बेला जारी गरिएको एक प्रेस विज्ञप्तिले ठूला राजनीतिक दल र भू-माफियाबीचको ‘सेटिङ’लाई उदाङ्गो पारेको छ।

अवैध प्लटिङले निम्त्याएको संकट
विज्ञप्तिमा उल्लेख भएअनुसार, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा तीव्र गतिमा भइरहेको जथाभावी जग्गा प्लटिङले जिल्लाको प्राकृतिक स्वरूप मात्र बिगारेको छैन, हरेक वर्ष बाढी, पहिरो र डुबानको भयावह समस्या समेत निम्त्याएको छ। भू-माफियाहरूले सार्वजनिक जग्गा अतिक्रमण गर्ने र वन सम्पदा नष्ट गर्ने कार्यलाई बढावा दिएकोमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।

काक्राबारी प्लटिङ प्रकरण: अदालतको फैसला लत्याइयो
विज्ञप्तिले सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित काक्राबारी (घिसिङ डाँडा) क्षेत्रमा भइरहेको अवैध प्लटिङलाई मुख्य उदाहरणका रूपमा प्रस्तुत गरेको छ। हाल ‘भू-जेकिक हाउजिङ प्रा.लि.’ मार्फत त्यहाँ काम गरिरहेको र सो क्रममा २७ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरिएको आरोप लगाइएको छ।

जिल्ला अदालत भक्तपुरले उक्त प्लटिङलाई अवैध ठहर गर्दै कारबाहीको फैसला सुनाए पनि सूर्यविनायक नगरपालिका र वडा कार्यालयले कुनै कदम नचालेको विज्ञप्तिमा उल्लेख छ। “अदालतको फैसला हुँदाहुँदै पनि सम्बन्धित निकायहरू चुपचाप बस्नुले यसमा गहिरो राजनीतिक सेटिङ रहेको प्रष्ट हुन्छ,” विज्ञप्तिमा भनिएको छ।

भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामाले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षदेखि एमाले र पूर्व माओवादीका स्थानीय नेताहरू समेत यो अवैध कार्यमा मौन बसेको वा मिलेमतो गरेको दाबी गरिएको छ। प्राकृतिक स्रोतको दोहन र सार्वजनिक जग्गाको लुटमा सत्ता र शक्तिको पहुँच भएका सबै ठूला दलहरूको स्वार्थ जोडिएको आरोप लगाइएको छ।

निर्वाचनको मुखमा मतदाताहरूलाई सचेत गराउँदै अभियन्ता लामाले भू-माफिया र भ्रष्ट नेतृत्वलाई परास्त गर्न अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *