वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, तत्काल खुल्ने सम्भावना कम
ढोरपाटन, १४ माघ । मङ्गलबार रातिदेखिको अविरल वर्षा र त्यससँगै भएको भारी हिमपातले मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागलुङ र पूर्वी रुकुमको सिमानामा अवस्थित पाती हाल्ने क्षेत्रमा अत्यधिक हिमपात हुँदा सडक यातायात विच्छेद भएको हो । सडक अवरुद्ध भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारी साधनहरू बीच बाटोमै रोकिँदा सयौँ यात्रुहरू अलपत्र परेका छन् ।
इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले दिनुभएको जानकारी अनुसार निरन्तर हिउँ परिरहेकाले तत्काल सडक सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ । उहाँले भन्नुभयो, “अहिले पनि हिमपात जारी छ, जसका कारण तत्काल बाटो खुलाउन सकिने अवस्था छैन ।”
प्रहरीका अनुसार काठमाडौँबाट रुकुम, जाजरकोट र डोल्पा जस्ता पहाडी जिल्लाका लागि छुटेका दिवा तथा रात्रि बसहरू निसीखोला गाउँपालिका–६, भल्कोटमा रोकिएका छन् । चिसो बढेसँगै अलपत्र यात्रुहरूको जनजीवन कष्टकर बनेको छ ।