बाराकाे परवानीपुरमा आमा-छोराको बीभत्स हत्या : दुबईबाट आएका ‘प्रेमी’ र बुहारी पक्राउ
काठमाडौँ, १४ माघ । बाराको परवानीपुरमा एकै परिवारका आमा-छोराको बीभत्स हत्या भएको घटनामा प्रहरीले मृतककै बुहारी र विदेशबाट आएका एक युवकलाई पक्राउ गरेको छ ।
परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार मंगलबार राति (बुधबार बिहानपख) भएको आक्रमणमा आमा-छोराको घटनास्थलमै मृत्यु भएको हो ।
आक्रमणबाट ५० वर्षीय घरमुली जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले हत्यामा घरकै बुहारी र उनका प्रेमी भनिएका युवकको संलग्नता रहेको निष्कर्ष निकालेको छ । पक्राउ परेका युवक दुई दिनअघि मात्र (जनवरी २६/माघ १२ गते) दुबईबाट काठमाडौँ ओर्लिएका थिए ।
प्रहरी स्रोतका अनुसार त्रिभुवन विमानस्थल ओर्लिएलगत्तै ती युवक सिधै बारा पुगेका थिए । बुहारीसँग ती युवकको विवाहइतर (अनैतिक) सम्बन्ध रहेको र सोही कारण परिवारमा खटपट सुरु भएपछि योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धान अधिकृतले भने, ‘बुहारी र ती युवकबीचको सम्बन्ध परिवारले थाहा पाएपछि विवाद भएको देखिन्छ । त्यही विवाद अन्त्य गर्न उनीहरूले सामूहिक हत्याको योजना बनाएको आशंका छ ।’