मुग्लिन–मलेखु सडक विस्तार सुस्त : ३ वर्षमा ३७ प्रतिशत मात्र काम, म्याद सकिएपछि ६ महिना थप
चितवन, १८ माघ । पृथ्वी राजमार्गको ‘लाइफलाइन’ मानिने नागढुङ्गा–मलेखु सडक खण्डको विस्तार कार्य निकै सुस्त गतिमा अघि बढेको पाइएको छ । सम्झौता अनुसार काम भएको भए यतिबेला सडक विस्तार सम्पन्न भइसक्नुपर्ने थियो । तर, तोकिएको ३ वर्षको अवधिमा जम्मा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनाको म्याद ६ महिना थप गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड (मुग्लिन–मलेखु) को निर्माणका लागि २०७९ पुस १५ गते सम्झौता भएको थियो । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको म्याद गत पुस १५ गते सकिएको छ । म्याद सकिँदा पनि काम अधुरै रहेपछि १८३ दिन (करिब ६ महिना) समय थपिएको हो ।
आयोजनाका इन्जिनियर विजय दरैका अनुसार सुरुवाती चरणमा डिजाइनको तथ्याङ्क (डाटा) गलत हुँदा सडकको नक्साङ्कन नै फरक परेको थियो । यही प्राविधिक त्रुटिका कारण समयमै काम अघि बढाउन नसकिएको भन्दै म्याद थप गरिएको हो ।
यद्यपि, निर्माण कम्पनीले भने नक्साङ्कनको त्रुटि मात्र नभई सडकको ‘साइट क्लियर’ हुन ढिलाइ भएको, रुख र बिजुलीका खम्बा सार्न समय लागेको, निर्माण सामग्रीको अभाव र सवारीको उच्च चापका कारण काममा बाधा पुगेको दाबी गर्दै आएको छ । इन्जिनियर दरैले हाललाई नक्साङ्कनको विषय सम्बोधन गरेर म्याद थपिएको भए पनि अन्य समस्याका विषयमा छलफल भइरहेको बताए ।
हालसम्म यो खण्डको भौतिक प्रगति ३७.५ प्रतिशत मात्र छ । इन्जिनियर दरैका अनुसार हालसम्म ९ किलोमिटरभन्दा केही बढी सडक कालोपत्र गरिएको छ । अहिले धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ भने फिस्लिङ क्षेत्रमा तयारी थालिएको छ ।
अहिले सडकमा नाली बनाउने, बेरियर हाल्ने, पुल निर्माण गर्नेलगायतका काममा दैनिक करिब १५० मजदुर खटिएका छन् । थपिएको समयभित्र काम सक्ने गरी गति बढाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको आयोजनाले जनाएको छ ।
कुल ३८.८६ किलोमिटर लामो यो खण्डमा बजार र भूगोल अनुसार सडकको चौडाइ फरक–फरक हुनेछ । मलेखु, बेनीघाट र मुग्लिन बजार क्षेत्रमा पर्ने २.२ किलोमिटर सडक ६ लेनको हुनेछ ।
यस्तै, रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रको ७.२ किलोमिटर सडक ४ लेनको बनाइनेछ । उकालो–ओरालो भूभागमा भारी सवारीसाधनका लागि २.३ किलोमिटर ‘क्लाइम्बिङ लेन’ (तीन लेन) र बाँकी स्थानमा दुई लेनको सडक रहने इन्जिनियर दरैले जानकारी दिए ।
विश्व बैंकको ऋण सहयोगमा विस्तार भइरहेको यो सडक खण्डको ठेक्का शर्मा–जेडआइसिजी जेभीले पाएको हो । ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागत रहेको यस आयोजनामा अझै पनि पहिरो रोकथाम, भित्तो काट्ने र सडक सुरक्षाका धेरै काम बाँकी नै छन् ।