सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए

काठमाडौँ, १० असोज । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।

शनिबार बिहान ६ बजेपछि गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह उच्च भएपछि ब्यारेजका ४३ ढोका खोलिएको हो।

यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९८ हजार २ सय २० क्युसेक पुगेपछि २५ वटा ढोका खोलिएको थियो। दिउँसो १ बजे बहाव २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा र दिउँसो २ बजे २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई जोखिमबारे सचेत गराउन पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न आग्रह गरेको छ।

वर्षा जारी रहेकाले नदीमा पानीको बहाव अझ बढ्न सक्ने जनाइएको छ। कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *