क्युबामा अमेरिकी दूतमाथि ‘दुर्व्यवहार’, वासिङ्गटनद्वारा कडा भर्त्सना

एजेन्सी, माघ १९ । क्युबाको राजधानी हभानामा अमेरिकी शीर्ष कूटनीतिज्ञमाथि स्थानीय भिडले दुर्व्यवहार गरेपछि संयुक्त राज्य अमेरिकाले क्युबाली सरकारको कडा आलोचना गरेको छ। कूटनीतिक कार्यमा अवरोध पुर्‍याइएको भन्दै अमेरिकाले क्युबालाई चेतावनी समेत दिएको छ।

अमेरिकी विदेश मन्त्रालयले आफ्ना दूतमाथि भएको व्यवहारलाई ‘तल्लो स्तरको धम्कीपूर्ण रणनीति’ को संज्ञा दिएको छ। मन्त्रालयले क्युबालाई कूटनीतिक मर्यादाको पालना गर्न र अमेरिकी अधिकारीहरूको कामकारबाहीमा अवरोध नगर्न सचेत गराएको छ।

अमेरिकी विशेष दूत माइक ह्यामर स्थानीय गिर्जाघर (चर्च) का नेताहरूसँगको भेटघाट सकेर बाहिर निस्कने क्रममा तनाव उत्पन्न भएको थियो। सो क्रममा जम्मा भएको भिडले उनीविरुद्ध चर्को नाराबाजी गरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा आक्रोशित भिडले ह्यामरलाई ‘साम्राज्यवादी’ र ‘हत्यारा’ भन्दै गाली गरेको देखिन्छ।

यता, क्युबाली सरकारले भने अमेरिकी आरोपको प्रतिवाद गरेको छ। क्युबाले अमेरिकी दूत ह्यामरमाथि कूटनीतिक मर्यादा विपरित देशमा अशान्ति फैलाउन खोजेको र क्युबाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको गम्भीर आरोप लगाएको छ।

पछिल्लो समय अमेरिका र क्युबाबीचको कूटनीतिक सम्बन्ध निकै चिसिएको छ। हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि ‘असाधारण खतरा’ घोषणा गरेका थिए। साथै, उनले क्युबालाई इन्धन आपूर्ति गर्ने जुनसुकै देशमाथि पनि भारी कर लगाउने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *