जुम्लाका ५२ मतदानस्थल ‘अति संवेदनशील’, सुरक्षा व्यवस्था कडा पारिँदै
जुम्ला, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जुम्लाका ८५ मतदानस्थलमध्ये ५२ वटालाई ‘अति संवेदनशील’को सूचीमा राखिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले जिल्लाका मतदानस्थलहरूलाई तीन तहमा वर्गीकरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिनबाबू रेग्मीका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ५२ स्थललाई ‘अति संवेदनशील’, १८ स्थललाई ‘संवेदनशील’ र १५ वटा मतदानस्थललाई ‘सामान्य’ समूहमा वर्गीकरण गरिएको छ । “निर्वाचनमा हुन सक्ने सम्भावित गतिविधि र भौगोलिक विकटतालाई आधार मानेर सुरक्षा योजना बनाइएको छ,” प्रनाउ रेग्मीले भन्नुभयो ।
एक नगरपालिका र सात गाउँपालिका रहेको जुम्लामा यसपटक कुल ७१ हजार ७३९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको सङ्ख्या ३७ हजार ४५९ र महिला मतदाताको सङ्ख्या ३४ हजार २८० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।