निर्वाचन सुरक्षा: जुम्लाका ८५ मध्ये ५२ मतदानस्थल ‘अति संवेदनशील’
जुम्ला, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई ‘अति संवेदनशील’को सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीको विश्लेषण गर्दै मतदानस्थलहरूलाई तीन तहमा वर्गीकरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) रबिनबाबू रेग्मीका अनुसार, निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजना अन्तर्गत यो वर्गीकरण गरिएको हो ।
जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी कुल ८५ वटा मतदानस्थल रहेका छन् । जसमध्ये:
अति संवेदनशील: ५२ वटा, संवेदनशील: १८ वटा र सामान्य: १५ वटा रहेका छन् ।
भौगोलिक विकटता, सञ्चार सुविधाको पहुँच र विगतका निर्वाचनका घटनाक्रमलाई आधार मानेर सुरक्षा निकायले स्थलहरूको वर्गीकरण गरेको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जुम्लामा कुल ७१ हजार ७३९ जना मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको सङ्ख्या ३७ हजार ४५९ र महिला मतदाताको सङ्ख्या ३४ हजार २८० रहेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा निकायले जिल्लाभरको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन विशेष टोली परिचालन गर्ने तयारी समेत गरेको छ । अति संवेदनशील मानिएका क्षेत्रमा थप सुरक्षाकर्मी र विशेष निगरानीको व्यवस्था गरिने प्रहरीले जनाएको छ ।