विश्व क्यान्सर दिवस: सचेतना र रोकथाममा जोड
काठमाडौँ, माघ २१ । क्यान्सर रोगविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम गर्ने तथा समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ आज नेपालसहित विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाइँदै छ । हरेक वर्ष फेब्रुअरी ४ का दिन विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ ।
सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’ ले पारित गरेको ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ को जगमा टेकेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसयता क्यान्सर रोगको चुनौतीलाई न्यूनीकरण गर्न विश्वभर संगठित प्रयासहरू हुँदै आएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्कलाई उद्धृत गर्दै सार्वजनिक गरिएका विवरण अनुसार, विश्वभर प्रत्येक वर्ष क्यान्सरका कारण ठुलो संख्यामा मानिसहरूले ज्यान गुमाउने गरेका छन् । विज्ञहरूका अनुसार धूमपान, सुर्तीजन्य पदार्थको अत्यधिक सेवन, अस्वस्थ खानपान र विलासी एवं निष्क्रिय जीवनशैली क्यान्सर रोगका प्रमुख कारक हुन् ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुने भन्दै स्वास्थ्यकर्मीहरूले खानपानमा सुधार र नियमित शारीरिक व्यायाममा ध्यान दिन आग्रह गरेका छन् । समयमै रोगको पहिचान भएमा धेरैजसो क्यान्सर निको हुने समेत चिकित्सकहरूको भनाइ छ ।