नेप्सेमा दोहोरो अङ्कको दबाब: सामान्य गिरावटसँगै कारोबार रकम पनि खुम्चियो

काठमाडौँ, २१ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि सामान्य गिरावट देखिएको छ। साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.६४ अङ्कले घटेर २६८१.५० विन्दुमा ओर्लिएको छ। मंगलबारकै गिरावटको लयलाई पछ्याउँदै आज पनि बजार राताम्मे देखिएको हो।

नेप्सेका अनुसार यस दिन सेन्सेटिभ इण्डेक्स ०.७० अङ्क, फ्लोट इण्डेक्स ०.१९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अङ्कले घटेका छन्।

बजार परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आज ३२६ कम्पनीको ८० हजार ४२२ पटकको कारोबारमा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ।

बजार सामान्य ओरालो लागे पनि चारवटा जलविद्युत र पर्यटन क्षेत्रका कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीहरूमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत रहेका छन्। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ।

यता, एचएलआई लार्ज क्याप फण्डको इकाई मूल्यमा भने सबैभन्दा बढी ५.५४ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको ८० करोड ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको एसवाई प्यानल नेपालको करिब साढे ६० करोड र राधी विद्युत कम्पनीको २६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सूचक बढेको छ भने ६ वटा उपसमूहको सूचक घटेको छ। वित्त (फाइनान्स) उपसमूह सर्वाधिक ०.९३ प्रतिशतले बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचकमा पनि सामान्य सुधार देखिएको छ।