निर्वाचनमा भ्रामक प्रचार रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं, २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’ बीच समझदारी भएको छ।

निर्वाचनका समयमा हुन सक्ने भ्रामक प्रचार र गलत सूचना प्रवाहलाई रोक्न बुधबार दुई पक्षबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको हो।

निर्वाचन आयोगमा आयोजित एक कार्यक्रमका बीच आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो।

निर्वाचन नजिकिएसँगै टिकटकलगायतका सामाजिक सञ्जालमा राजनीतिक दल र उम्मेदवारविरुद्ध भ्रामक सामग्री, घृणास्पद अभिव्यक्ति (Hate Speech) र मिथ्या सूचना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै आयोगले यो कदम चालेको हो। समझदारीअनुसार टिकटकले निर्वाचनको स्वच्छतामा आँच पुर्‍याउने सामग्रीहरूलाई नियन्त्रण र व्यवस्थापन गर्न आयोगलाई सहयोग गर्नेछ।

हस्ताक्षर कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराका साथै आयोगका सचिव कृष्ण बहादुर राउतलगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।