बाटोमै पार्किङ गरिएका १५ रात्री बसलाई ट्राफिक प्रहरीले समात्यो
काठमाडौँ, २१ माघ । उपत्यकाको सडकमा जथाभावी पार्किङ गरी अवरोध पुर्याउने १५ वटा रात्री बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष चेकिङका क्रममा ती बसहरूले आफ्नो रुट परमिट अनुसार तोकिएको अन्तिम गन्तव्यसम्म नगई बाटोमै गाडी राखेको भेटिएको थियो ।
ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार, लामो दूरीका यी सवारी साधनले नियम मिचेर सडकमै पार्किङ गरेपछि नियन्त्रणमा लिइएको हो । प्रहरी प्रवक्ता नरेशराज सुवेदीले नियन्त्रणमा रहेका बसहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।