महानगर कप व्याडमिन्टन : वडा नं. १५ लाई ‘वेष्ट वार्ड अवार्ड’ : मोहनबहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट

काठमाडौँ, १५ असार । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘महानगर कप वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता–२०८३’ मा वडा नं. १५ ले ‘वेष्ट वार्ड अवार्ड’ प्राप्त गरेको छ । नेपाल व्याडमिन्टन संघ काठमाडौँसँगको सहकार्यमा सम्पन्न यस प्रतियोगितामा समग्र विधामा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. १५ ले विजेता ट्रफी हात पारेको हो ।

डल्लु आवास क्षेत्रस्थित भूकम्प स्मृति कभर्ड हलमा असार १२ गतेदेखि सुरु भएको प्रतियोगिताको शनिबार एक विशेष समारोहका बीच समापन गरियो । समापन समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी. ले विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

विजेता तथा उपविजेताहरूको विवरण
प्रतियोगिताको महिला एकलतर्फ वडा नं. १५ की अजरेन्का शेरचन र पुरुष एकलतर्फ वडा नं. १० का बबिस थापाले उपाधि जित्नुभयो । विजेताहरूले जनही ३२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यस्तै, पुरुष एकलतर्फ वडा नं. १५ का सोयम मानन्धर र महिलातर्फ वडा नं. ६ की शिष्टता कुइँकेल उपविजेता बन्दै जनही २० हजार रुपैयाँ प्राप्त गर्नुभयो । पुरुषतर्फ गौरव तण्डुकार (वडा २८) र सुशान्त प्रजापती (वडा ४) तथा महिलातर्फ सम्रिना श्रेष्ठ (वडा २३) र श्रीया महर्जन (वडा १५) तेस्रो स्थान हासिल गर्दै जनही १० हजार रुपैयाँबाट पुरस्कृत हुनुभयो । पाँचौँदेखि आठौँ स्थानसम्मका खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

मिश्रित युगल (मिक्स डवल) विधामा वडा नं. १५ का अनिशराज तुलाधर र विद्या श्रेष्ठको जोडी प्रथम हुँदै ४० हजार रुपैयाँ प्राप्त गर्यो । वडा नं. १० का सक्षम ढकाल र विभा थापाको टोली दोस्रो (३० हजार रुपैयाँ) तथा वडा नं. २९ का नरेश श्रेष्ठ र पुनशोभा महर्जन एवं वडा नं. ३२ का राजु देउजा र अम्बिका पण्डित क्षेत्रीको टोली तेस्रो (१६ हजार रुपैयाँ) भए ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड
व्याडमिन्टन खेलको विकास र विस्तारमा दीर्घकालीन योगदान पुर्‍याउनुभएका मोहनबहादुर शाहीलाई यस वर्षको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो । कार्यवाहक प्रमुख डंगोलले उहाँलाई सो सम्मान प्रदान गर्नुभएको हो ।

खेलकुदले स्वस्थ महानगर निर्माणमा सघाउँछ : कार्यवाहक प्रमुख डंगोल
समापन कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले खेलकुदलाई महानगरले स्वस्थ नागरिक र अनुशासित समाज निर्माणको सूत्रका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई व्यक्तिलाई अनुशासित बनाउने र आपसी सम्बन्ध सुदृढ गर्ने माध्यम पनि हो । महानगरले खेलमार्फत आर्थिक र सांस्कृतिक विकासको लक्ष्य समेत राखेको छ ।”

त्यस्तै, सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी. ले यस वर्षदेखि सुरु गरिएका खेलकुद प्रतियोगिताहरूलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिता
प्रतियोगितामा महानगरका २४ वटा वडाबाट कुल ४२ जना खेलाडीको सहभागिता रहेको थियो । लैङ्गिक समानतालाई ध्यानमा राख्दै प्रत्येक वडाबाट २ पुरुष र २ महिला खेलाडी सहभागी गराइएको थियो । लिग कम नकआउट प्रणालीमा खेलाइएको यस प्रतियोगितामा प्रत्येक खेल १५ अंकको ‘बेस्ट अफ थ्री’ को आधारमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य राजीव श्रेष्ठ र व्याडमिन्टन संघ काठमाडौँका अध्यक्ष दिपक थापाले खेलकुद पूर्वाधार निर्माण र खेलाडीको वृत्तिविकासका विषयमा चर्चा गर्नुभएको थियो ।