बौद्धमा करोडौँको सुन चोरी गर्ने अभियुक्त गोली प्रहार गरी पक्राउ, ६५ तोला सुन बरामद
काठमाडौँ, २२ माघ । काठमाडौँको बौद्धस्थित एक घरबाट करोडौँ मूल्य बराबरको सुन चोरी गरी फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँके घर भएका प्रेम चौधरीलाई मंगलबार राति नागार्जुन नगरपालिका–६ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरीले मंगलबार बौद्धका रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी गरेका थिए । चोरीको सूचना पाएलगत्तै खोजीमा जुटेको प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो ।
पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । “प्रहरीमाथि खुकुरी प्रहार भएपछि आत्मरक्षाका लागि बाध्य भएर गोली चलाउनुपर्यो,” उहाँले भन्नुभयो ।
अभियुक्त चौधरीको खुट्टामा गोली लागेको छ र हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोही झडपमा परी एक प्रहरी जवानसमेत घाइते भएका छन् ।
प्रहरीले अभियुक्तको साथबाट चोरी भएको ६५ तोला सुनसमेत बरामद गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।