निर्वाचनका लागि सवारीसाधन प्रयोगसम्बन्धी कार्यविधि जारी: कुन उम्मेदवारले कति गाडी चढ्न पाउने?
काठमाडौँ, २२ माघ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउने उद्देश्यले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। आयोगले माघ २० गते स्वीकृत गरेको यस कार्यविधिले निर्वाचन प्रचारप्रसार र मतदानका दिन प्रयोग हुने सवारीसाधनको मापदण्ड र प्रक्रिया स्पष्ट पारेको छ।
कार्यविधिअनुसार निर्वाचनका उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले सवारीसाधन प्रयोगका लागि सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।
कुन उम्मेदवारलाई कति सवारीसाधन?
नयाँ कार्यविधिले उम्मेदवारको तहअनुसार सवारीसाधनको सङ्ख्या तोकेको छ:
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य: उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन (दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे) प्रयोग गर्न पाउनेछन्। सवारी नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न पाइनेछ।
महानगर र उपमहानगरपालिका: प्रमुख र उपप्रमुखका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्।
नगरपालिका र गाउँपालिका: प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले एउटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्।
वडा तह: वडाध्यक्ष र सदस्यका उम्मेदवारले आफ्नो वडाभित्र मात्र प्रयोग गर्ने गरी एउटा सवारीसाधनको अनुमति पाउनेछन्।
मौन अवधि र कारबाहीको व्यवस्था
मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि सुरु हुने ‘मौन अवधि’मा कुनै पनि सवारीसाधन प्रयोग गर्न पाइने छैन। यदि अनुमति नलिई वा मौन अवधिमा सवारीसाधन प्रयोग गरेको पाइएमा त्यस्ता सवारीसाधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिनेछ। नियन्त्रणमा लिइएका सवारीसाधन निर्वाचन सम्पन्न भएपछि मात्र फिर्ता गरिने कार्यविधिमा उल्लेख छ। यसको प्रभावकारी अनुगमनका लागि जिल्ला आचारसंहिता अनुगमन समितिलाई जिम्मेवारी दिइएको छ।
मतदानका दिनको व्यवस्था
मतदानका दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य यातायातका साधन चलाउन निषेध गरिएको छ। यद्यपि, हवाई उडानको हकमा भने यो नियम लागू हुने छैन। मतदानका दिन उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारकर्मी, पर्यवेक्षक, कूटनीतिक नियोग र आयोगले तोकेका विशिष्ट व्यक्तिहरूले मात्र अनुमति लिएर सवारीसाधन चलाउन पाउनेछन्।
विदेशी नम्बर प्लेट भएका सवारीसाधनलाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
कुन कुन सवारीलाई अनुमति चाहिँदैन?
अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने अनुमति पत्र आवश्यक पर्ने छैन। यसअन्तर्गत एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, दुध ढुवानी गर्ने साधन, शववाहन, अस्पताल सेवा, दूरसञ्चार, विद्युत् सेवा र ‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधन रहेका छन्।
काठमाडौँ उपत्यकाको हकमा आयोग परिसरमा स्थापना हुने ‘एकीकृत सवारीसाधन आवागमन डेस्क’ र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत अनुमति पत्र जारी गरिने आयोगले जनाएको छ।