स्वास्थ्य बीमाको बक्यौता नपाएको विषय राष्ट्रिय सभामा

काठमाडौँ, २३ माघ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयन र अस्पतालहरूले पाउनुपर्ने भुक्तानीको विषयमा कुरा उठेको छ ।

शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तुलसा कुमारी दाहालले स्वास्थ्य बीमाको रकम नपाउँदा अस्पतालहरू मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद दाहालले पछिल्लो समय धेरै अस्पताल र स्वास्थ्य संस्थाहरूले बीमाबापतको रकम नपाएको समाचार आइरहेको उल्लेख गर्दै यसले सेवा प्रवाहमा समस्या ल्याउन सक्ने बताउनुभयो ।

“अस्पतालहरू र केही संस्थाहरूले स्वास्थ्य बीमाको रकम नपाएको भन्ने समाचार निरन्तर आइरहेका छन्,” बैठकमा बोल्दै दाहालले भन्नुभयो, “यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूले चासो राख्नुभएको भन्ने पनि सुनिएको छ । तर, यसको वास्तविक व्यवस्थापन र भुक्तानीको प्रक्रियामा के भइरहेको छ, सो विषयमा सरकारले सदनलाई स्पष्ट जानकारी गराउनुपर्छ ।”

उनले स्वास्थ्य बीमा जनताको प्रत्यक्ष सरोकारको विषय भएकोले यसमा देखिएका प्राविधिक र व्यवस्थापकीय ढिलाइलाई तत्काल सम्बोधन गर्न माग गर्नुभयो । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई अर्बौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला संसद्मा यो विषयले प्रवेश पाएको हो ।