धादिङको महादेवबेँसीमा दुई बस एकापसमा ठोक्किए : चिया पसलमा बस पस्दा एकको मृत्यु

धादिङ, २५ माघ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेँसीमा दुईवटा यात्रुवाहक बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भएको उक्त दुर्घटनामा परी अन्य केही व्यक्ति घाइते भएका छन्।

काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख १५५२ नम्बरको बस एकापसमा ठोक्किएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक शिशिर थापाका अनुसार ठक्कर खाएपछि अनियन्त्रित भएको बस सडक किनारमा रहेको एक चिया पसलमा पस्न पुगेको थियो। सोही क्रममा चिया पसलमा रहेका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

“दुर्घटनापछि अहिले घटनास्थलमा उद्धारकार्य जारी छ,” प्रहरी निरीक्षक थापाले भन्नुभयो, “घाइतेहरूको सङ्ख्या एकिन हुन बाँकी छ, उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल र काठमाडौँ पठाइँदै छ।”

दुर्घटनाका कारण केही समय पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो। अहिले प्रहरीले दुर्घटनाग्रस्त सवारी साधनलाई पन्छाउने र यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ।