काठमाडौँको वायु ‘अस्वस्थ’ : विश्वका प्रदूषित सहरको सूचीमा सातौँ स्थानमा

काठमाडौँ, २५ माघ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज ‘अस्वस्थ’ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँको प्रदूषण १७५ एक्युआई पुगेको हो।

यससँगै काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा सातौँ स्थानमा परेको छ। सोही समयमा इजिप्टको कायरो २७३ एक्युआईका साथ विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ।

किन बढ्दै छ प्रदूषण ?
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयदेखिको सुक्खा मौसम, हावा नचल्नु, तीव्र विकास निर्माण र उद्योगधन्दाको सञ्चालनका कारण उपत्यकामा धुलो र धुवाँको मात्रा बढेको हो। “स्थानीय कारकबाहेक छिमेकी मुलुक भारतबाट आउने सीमापार प्रदूषणले पनि काठमाडौँको आकाश धुम्मिएको छ,” सुवेदीले भन्नुभयो, “ठुलो वर्षा नभएसम्म प्रदूषणको यो तह अझै बढ्न सक्ने सम्भावना छ।”

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार १५१ देखि २०० एक्युआईसम्मको अवस्थालाई ‘सबैका लागि अस्वस्थ’ मानिन्छ। यसले स्वस्थ मानिसलाई समेत श्वासप्रश्वासमा समस्या पार्न सक्छ भने बालबालिका, ज्येष्ठ नागरिक र मुटुरोगीलाई उच्च जोखिममा राख्छ।

नेपाल सरकारको ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ ले ३०० एक्युआई भन्दा माथिको अवस्थालाई ‘विपद्’ को रूपमा परिभाषित गरेको छ। यस्तो अवस्थामा फोहोर बाल्न रोक लगाउने, सडक सफाइमा ब्रुमरको प्रयोग बढाउने र नागरिकलाई घरबाहिर ननिस्कन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था छ।

राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदूषण न्यूनीकरणका लागि प्रमुख सहर र औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गर्ने र राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। यद्यपि, काठमाडौँको बढ्दो प्रदूषणले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको भन्दै विज्ञहरूले मास्कको अनिवार्य प्रयोग र वातावरणीय सावधानी अपनाउन सुझाव दिएका छन्।