इरान र अमेरिका बिचको आणविक वार्तामा सकारात्मक प्रगति : राष्ट्रपति पेजेस्कियनद्वारा ‘एक कदम अगाडि’ भएको टिप्पणी

काठमाडौँ, माघ २५ । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले संयुक्त राज्य अमेरिकासँगको पछिल्लो आणविक वार्तालाई प्रगतिको दिशामा ‘एक कदम अगाडि’ भएको बताउनुभएको छ । ओमानको राजधानी मस्कटमा शुक्रबार इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको अप्रत्यक्ष वार्ताको सकारात्मक नतिजाप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट गर्दै राष्ट्रपति पेजेस्कियनले पश्चिम एसियाली क्षेत्रका मित्रराष्ट्रहरूको मध्यस्थताका कारण संवादको सम्भावना बढेको उल्लेख गर्नुभयो । उहाँले इरानले सधैँ शान्तिपूर्ण माध्यमबाट मुद्दाहरूको समाधान खोज्ने रणनीति लिएको समेत स्पष्ट पार्नुभयो ।

यसैबीच, तेहरानमा आयोजित एक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मस्कट वार्तामा इरानी टोलीको नेतृत्व गर्नुभएका विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानको कूटनीतिक अडान प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “इरानको आणविक हतियार निर्माण गर्ने कुनै मनसाय छैन, तर हामी कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय दबाब वा दादागिरीलाई दृढतापूर्वक अस्वीकार गर्दछौँ ।”

विदेशमन्त्री अराघचीले संवादमा आपसी सम्मानको महत्त्वमा जोड दिँदै थप्नुभयो, “यदि इरानी जनतासँग बलको भाषा प्रयोग गरियो भने हामी सोही भाषामा जवाफ दिनेछौँ। तर, सम्मानजनक संवादका लागि हामी सधैँ तयार छौँ ।”

मध्यपूर्वमा बढ्दो सैन्य सक्रियता र क्षेत्रीय तनावका बीच वासिङ्टन र तेहरानबीच भएको यस वार्तालाई विश्व कूटनीतिमा महत्त्वका साथ हेरिएको छ। मन्त्री अराघचीले यस वार्तालाई ‘राम्रो सुरुवात’ को संज्ञा दिँदै आगामी प्रक्रिया दुवै देशको राजधानीमा हुने परामर्श र राजनीतिक निर्णयमा निर्भर रहने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *