वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम र सवारी आयातमा निर्भर : ६ महिनामा १ खर्ब १६ अर्ब सङ्कलन
पर्सा, २६ माघ । वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन मुख्यतया पेट्रोलियम पदार्थ र सवारी साधनको आयातमा केन्द्रित देखिएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सङ्कलित कुल राजस्वमा यी दुई क्षेत्रको हिस्सा सबैभन्दा ठूलो रहेको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्म कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।
राजस्व सङ्कलनमा दोस्रो ठूलो हिस्सा सवारी साधन र तिनका पार्टपुर्जाको रहेको छ । ६ महिनाको अवधिमा यातायातका साधन र पार्टपुर्जा आयातबाट १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार यहाँको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारी साधनको आयात हो ।
यस्तै, अन्य वस्तुहरूमा फलाम तथा फलामबाट बनेका सामानको आयातबाट ६ अर्ब ८३ करोड, कपडा आयातबाट ५ अर्ब २६ करोड र इलेक्ट्रिक मेसिनरी तथा उपकरणबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
अन्य विलासिताका वस्तुतर्फ मदिराजन्य पेयपदार्थको आयातबाट १ अर्ब ८३ करोड र शृङ्गार (कस्मेटिक्स) का सामग्रीबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ ।