राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत : भूपू गोर्खाका माग कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड

काठमाडौँ, २६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य (बेलायत) को ब्रिटीश सेना अन्तर्गतको ‘गोर्खा विग्रेड’ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति निवास शीतल निवासमा आइतबार आयोजित एक कार्यक्रमका बीच बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्ड नेतृत्वको टोलीले सन् २०२५ को प्रतिवेदन पेस गरेको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि रहेको घनिष्ठ सम्बन्धको चर्चा गर्दै बेलायत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो । उहाँले विकास, मानव कल्याण र विश्वशान्ति स्थापनाका सन्दर्भमा दुई राष्ट्रबीच अन्तर्राष्ट्रिय मञ्चहरूमा रहँदै आएको सहकार्यको प्रशंसा गर्नुभयो ।

राष्ट्रपति पौडेलले ब्रिटीश गोर्खाले आफ्नो उत्कृष्ट कार्यमार्फत नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो । बेलायतमा नेपालीहरूको उपस्थितिले जनस्तरको सम्बन्धलाई समेत सुदृढ तुल्याएको उहाँको भनाइ थियो । सो क्रममा उहाँले पूर्व ब्रिटीश गोर्खाका केही जायज गुनासाहरूलाई कूटनीतिक छलफल र द्विपक्षीय संयन्त्रमार्फत छिटो टुङ्गोमा पुर्‍याउन उचित हुने धारणा राख्नुभयो ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले यस उपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटीश गोर्खा सेना सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने गरेको भन्दै प्रशंसा गर्नुभयो ।