सबै प्रतिबन्ध हटेमा अत्यधिक प्रवर्धित युरेनियम पातलो पार्न इरान तयार
काठमाडौँ, माघ २६ ।अमेरिकाले इरानमाथि लगाएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा फुकुवा गरेमा आफ्नो उच्च प्रवर्धित युरेनियमको मात्रा घटाउन (पातलो पार्न) तेहरान तयार रहेको इरानको आणविक ऊर्जा निकायले जनाएको छ ।
इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले सरकारी समाचार संस्था ‘आईआरएनए’ सँगको कुराकानीमा उक्त धारणा व्यक्त गर्नुभएको हो । संवर्धित ६० प्रतिशत युरेनियमलाई पातलो बनाउने सम्भावनाबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “यो विषय इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइन्छन् कि हटाइँदैनन् भन्ने कुरामा निर्भर गर्दछ ।”
प्राविधिक पक्ष र ऐतिहासिक सन्दर्भ
युरेनियम संवद्र्धनलाई पातलो पार्नुको अर्थ यसलाई अन्य मिश्रण सामग्रीसँग मिसाएर संवद्र्धनको स्तर कम गर्नु हो, जसले गर्दा अन्तिम उत्पादन अन्तरराष्ट्रिय रूपमा स्वीकृत सीमाभन्दा बढी नहोस् ।
सन् २०१५ मा विश्वका शक्तिराष्ट्रहरूसँग भएको आणविक सम्झौतामा इरानलाई ३.६७ प्रतिशतसम्म मात्र युरेनियम संवद्र्धन गर्ने अनुमति दिइएको थियो । तर, पछिल्लो समय इरानले ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गर्दै आएको छ, जुन आणविक हतियार निर्माणका लागि आवश्यक ९० प्रतिशत संवद्र्धनको नजिक मानिन्छ ।
अन्तरराष्ट्रिय चासो र आशङ्का
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका अनुसार आणविक हतियार नभए पनि युरेनियमलाई ६० प्रतिशतसम्म प्रशोधन गर्ने इरान विश्वकै एक मात्र मुलुक हो । अमेरिका र इजरायलले तेहरानले आणविक हतियार विकास गर्न खोजेको आशङ्का गर्दै आएका छन् भने इरानले यसलाई निरन्तर खण्डन गर्दै आफ्नो कार्यक्रम पूर्ण रूपमा नागरिक र शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ ।
आगामी सुरक्षा चुनौतीबारे उल्लेख गर्दै विज्ञहरूले इरानसँग भएको ४०० किलोग्रामभन्दा बढी उच्च प्रवर्धित युरेनियमको व्यवस्थापनबारे हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन नसकेको बताएका छन् ।
राजनीतिक गतिरोध
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको युरेनियम सम्बर्धनमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने अडान राख्दै आउनुभएको छ । तर, तेहरानले यसलाई अस्वीकार्य भन्दै आफू ‘आणविक अप्रसार सन्धि’ को हस्ताक्षरकर्ता भएकाले नागरिक परमाणु कार्यक्रम सञ्चालन गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताउँदै आएको छ । दुई देशबिचको यो अडानका कारण आणविक सम्झौता र प्रतिबन्ध फुकुवाको प्रक्रिया लामो समयदेखि अन्योलमा छ ।
