राजनीतिसँगै व्यावसायिक उखुखेतीमा सक्रिय कैलालीका जनप्रतिनिधि : कृषिबाटै समृद्धिको उदाहरण
काठमाडौँ, माघ २७ । कैलालीको टीकापुर नगरपालिकाका जनप्रतिनिधिहरू राजनीतिसँगै व्यावसायिक कृषिमा सक्रिय भएर समाजका लागि उदाहरण बनेका छन् । विशेषगरी उखुखेतीबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिँदै यहाँका वडाध्यक्ष र स्थानीय नेताहरूले ठूलो क्षेत्रफलमा व्यावसायिक खेती विस्तार गरिरहेका छन् ।
टीकापुर नगरपालिका-८ का स्थानीय नेता धनसिंह साउदले राजनीतिसँगै कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउनुभएको छ । बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्दै आउनुभएका साउदले पछिल्लो समय उखुखेतीलाई प्राथमिकता दिनुभएको छ । गत वर्ष ४५ बिघामा उखु लगाउनुभएका उहाँले यस वर्ष थप आठ बिघा विस्तार गर्ने तयारी गर्नुभएको छ । बर्दियाको राजापुरमा ‘राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज’ सञ्चालनमा आएपछि बजारको सुनिश्चितता भएपछि उहाँ उखुखेतीमा आकर्षित हुनुभएको हो ।
“एकपटकको लगानीले पछिसम्म फाइदा दिने र बजारको समस्या नभएकाले मैले उखुलाई प्राथमिकता दिएको हुँ,” साउदले भन्नुभयो । हाल उखुको मूल्य प्रतिक्विन्टल ६९० रुपियाँ (उद्योगबाट ६२० र सरकारबाट ७० रुपियाँ अनुदान) कायम रहेको छ । उहाँले उखुका अतिरिक्त धान, आलु र उन्नत बीउ उत्पादनमा समेत लगानी गर्नुभएको छ ।
सोही वडाका वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला पनि लामो समयदेखि उखुखेतीमा संलग्न हुनुहुन्छ । दुई कार्यकालदेखि वडाध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएका ठकुल्लाले सात बिघामा उखुखेती गर्नुभएको छ । उहाँका अनुसार राजनीति र समाजसेवा मात्र गरेर आर्थिक समृद्धि हासिल नहुने भएकाले उत्पादनमा जोड दिनु आवश्यक छ । “समयको सही व्यवस्थापन गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु,” उहाँले भन्नुभयो ।
त्यसैगरी, टीकापुर नगरपालिका–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि कृषि र व्यापारमा उत्तिकै सक्रिय हुनुहुन्छ । वि.सं. २०५३ देखि व्यापारमा आबद्ध न्यौपानेले हाल ९–१० बिघामा खेती गरिरहनुभएको छ । उहाँले दुई बिघाबाट सुरु गरेको उखुखेतीलाई यस वर्ष तीन बिघा पुर्याउने लक्ष्य राख्नुभएको छ । राजनीतिलाई सेवा र व्यवसायलाई जीविकोपार्जनको माध्यम बनाउँदा लोभ र भ्रष्टाचारबाट मुक्त हुन सकिने उहाँको अनुभव छ ।
पछिल्लो समय यस क्षेत्रका किसानहरू केराखेती छाडेर उखुखेतीतर्फ आकर्षित हुन थालेका छन् । लगानी सुरक्षित हुनु र बिक्रीका लागि भौँतारिनु नपर्ने भएपछि उखुखेती लोकप्रिय बन्दै गएको स्थानीय कृषक सुन्दर चौधरीले बताउनुभयो ।
राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजका प्रशासन प्रमुख इन्द्र ढकालका अनुसार उद्योगलाई वार्षिक ३० देखि ३५ लाख क्विन्टल उखु आवश्यक पर्ने भए तापनि हालसम्म आपूर्ति न्यून छ । झन्डै दुई अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यस उद्योगको वार्षिक क्षमता ३५ हजार ५ सय मेट्रिक टन चिनी उत्पादन गर्ने रहेको छ । कच्चा पदार्थको अभाव पूरा गर्न उद्योगले आफैँ पनि जग्गा भाडामा लिएर खेती विस्तार गरिरहेको र किसानहरूलाई समेत प्रोत्साहन गरिरहेको ढकालले जानकारी दिनुभयो ।
व्यावसायिक उखुखेतीमा जनप्रतिनिधिहरूको यो सक्रियताले स्थानीय युवाहरूमा समेत श्रम र उत्पादनप्रति सकारात्मक प्रभाव पारेको छ ।
