जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान : लोकतन्त्रको अग्निपरीक्षा

ढाका, २८ माघ । सन् २०२४ मा भएको ‘जेन–जी’ (युवा पुस्ता) नेतृत्वको ऐतिहासिक विद्रोहले शेख हसिनाको १५ वर्षे शासन अन्त्य गरेपछि बङ्गलादेशमा बिहीबार पहिलो पटक संसदीय निर्वाचनका लागि मतदान भएको छ ।

वर्षौँको राजनीतिक अस्थिरता र संक्रमणकालपछि भएको यस निर्वाचनलाई बङ्गलादेशको लोकतन्त्र पुनस्र्थापनाको महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ ।

राजधानी ढाकासहित देशभरका मतदान केन्द्रहरूमा बिहीबार बिहानैदेखि मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचन आयोगका अनुसार करिब १२ करोड ७० लाख मतदाता यो ऐतिहासिक प्रक्रियामा सहभागी हुन योग्य छन् । मतदानको अन्तिम नतिजा शुक्रबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएका कारण यसपटकको प्रतिस्पर्धामा नयाँ समीकरण देखिएको छ । १७ वर्षको लामो निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान भावी प्रधानमन्त्रीको प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनले लोकतान्त्रिक संस्थाहरूको पुनरुत्थान र थला परेको अर्थतन्त्र सुधार्ने एजेन्डा अघि सारेका छन् ।

रहमानलाई चुनौती दिन जमात–ए–इस्लामीको नेतृत्वमा ११ दलीय गठबन्धन चुनावी मैदानमा छ । हसिना शासनकालमा प्रतिबन्धित यो कट्टरपन्थी दलको उदयले महिला र धार्मिक अल्पसङ्ख्यक (विशेषगरी हिन्दू) समुदायमा भने केही संशय र चिन्ता बढाएको छ । जमातका प्रमुख शफिकुर रहमानले यस निर्वाचनलाई देशको ‘निर्णायक मोड’ भनेका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन उच्च सतर्कता अपनाएको छ । निर्वाचनको अनुगमनका लागि युरोपेली सङ्घ (ईयू) र राष्ट्रमण्डलका प्रतिनिधि सहित करिब ५०० अन्तर्राष्ट्रिय पर्यवेक्षक र विदेशी पत्रकारहरू बङ्गलादेश पुगेका छन् ।

३५० सदस्यीय संसद्मा ३०० सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५० सिट महिलाका लागि आरक्षित गरिएको छ ।

यसपटकको चुनावसँगै बङ्गलादेशमा प्रस्तावित संवैधानिक सुधारका लागि जनमतसङ्ग्रह पनि गरिएको छ । यदि बहुमतले समर्थन गरेमा नयाँ संसद्ले १८० दिनभित्र संवैधानिक सुधार परिषद् गठन गर्नेछ । यस प्रस्तावमा देशलाई द्विसदनीय व्यवस्थापिकामा लैजाने र माथिल्लो सदनलाई संविधान संशोधनको अधिकार दिने जस्ता महत्त्वपूर्ण प्रावधानहरू समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *