बाह्य दबाब र आन्तरिक मतभेदबीच इयुको रणनीतिक बैठक: युरोपको भविष्यबारे मन्थन

एजेन्सी, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक दबाब, चीनको आक्रामक आर्थिक रणनीति र रुसको बढ्दो सुरक्षा चुनौतीका बीच युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेताहरू रणनीतिक छलफलमा जुटेका छन् । बेल्जियमको ऐतिहासिक एल्डेन बिसेन महलमा बिहीबारदेखि सुरु भएको यस बैठकले कूटनीति, रक्षा र व्यापार क्षेत्रमा युरोपको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

भू-राजनीतिक परिदृश्यमा आएको फेरबदलका कारण युरोपले आफ्ना पुराना नीतिहरूमा पुनर्विचार गर्नुपर्ने दबाब बढेको छ । बैठकको गम्भीरताबारे टिप्पणी गर्दै बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले भन्नुभयो, “हामीले मार्ग परिवर्तन गर्नुपर्छ भन्ने सबैलाई थाहा छ, तर कहिलेकाहीँ जहाजको पुलमा उभिएर पनि सही दिशा समात्न नसकेको अनुभूति भइरहेको छ ।”

बैठकमा आर्थिक र व्यापारिक रणनीतिका सवालमा प्रमुख नेताहरूबीच वैचारिक भिन्नता देखिएको छ । जर्मन चान्सलर फ्रेडरिक मेर्ज र इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले खुला अर्थतन्त्र र नियमन कटौतीको वकालत गर्नुभएको छ । उहाँहरूले अमेरिका (वासिङ्टन) सँगको सम्बन्ध सुधार्दै दक्षिण अमेरिकी राष्ट्रहरूसँग थप व्यापार सम्झौता गर्नुपर्ने धारणा राख्नुभयो । चान्सलर मेर्जले भन्नुभयो, “हामीले हरेक क्षेत्रमा नियमनलाई कम गर्दै व्यापारलाई प्रोत्साहन दिनुपर्छ ।”

यसको विपरीत, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ‘युरोपेली प्राथमिकता’ (European Preference) को मुद्दा उठाउनुभएको छ । उहाँले चिनियाँ र अमेरिकी संरक्षणवादी नीतिको सामना गर्न युरोपले पनि आफ्ना उद्योगहरू—विशेष गरी क्लिनटेक, रसायन, इस्पात र अटो क्षेत्र—लाई जोगाउन सुरक्षात्मक नीति लिनुपर्नेमा जोड दिनुभयो । “चिनियाँ र अमेरिकीहरूले आफ्ना उद्योग जोगाउँछन् भने हामीले किन नगर्ने ?” म्याक्रोनको प्रश्न थियो ।

रक्षा खर्चको विषयलाई लिएर पनि बैठकमा ताताताती बहस भएको छ । राष्ट्रपति म्याक्रोनले रक्षा बजेटको ठूलो हिस्सा युरोपेली कम्पनीहरूबाटै हतियार खरिदमा खर्चिनुपर्ने अडान राख्नुभएको छ । तर, जर्मनी र इटालीले भने युरोपेली मात्र नभई विदेशी कम्पनीहरूबाट पनि खरिदको विकल्प खुला राख्नुपर्ने तर्क गरेका छन् ।

ट्रम्प प्रशासनले लगाउन सक्ने कर र चीनले महत्त्वपूर्ण खनिज निर्यातमा लगाएको प्रतिबन्धको प्रतिकार गर्न इयुले नयाँ वित्तीय योजनाबारे पनि छलफल गरिरहेको छ । राष्ट्रपति म्याक्रोनले ‘युरोबन्ड’ मार्फत सामूहिक ऋण उठाएर डलरको वर्चस्वलाई चुनौती दिनुपर्ने प्रस्ताव पुनः अघि सार्नुभएको छ । यता, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले आर्थिक शक्ति नै विश्व मञ्चमा प्रभाव जमाउने मुख्य आधार भएको बताउँदै साझा बजारलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

हालै सार्वजनिक भएको ‘युरोबेरोमिटर’ सर्वेक्षणअनुसार युरोपेली नागरिकहरूले सैन्य, आर्थिक र जलवायु जोखिमको समयमा अझ एकीकृत र सुदृढ नेतृत्वको अपेक्षा गरेका छन् । एचइसी पेरिसका प्राध्यापक अल्बर्टो अलेमानोका अनुसार, यो बैठक युरोपेली नेताहरूका लागि नागरिकको माग सम्बोधन गर्दै ऐतिहासिक निर्णय लिने उपयुक्त अवसर हो ।

बिहीबारको यो छलफलले आगामी मार्च महिनामा हुने शिखर सम्मेलनका लागि एउटा ठोस मार्गचित्र तयार गर्ने लक्ष्य राखेको छ । यो बैठकको निष्कर्षले युरोपको आर्थिक आत्मनिर्भरता र सुरक्षाको नयाँ अध्याय सुरु गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *