पाथीभरा एकेडेमीको १४औँ वार्षिकोत्सव सम्पन्न: ‘सिङ्गिङ आइडल’को उपाधि दिपसनालाई

भक्तपुर, १ फागुन । सूर्यविनायक नगरपालिका–५, सृजनानगरस्थित पाथीभरा एकेडेमीले आफ्नो १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक रमेश प्रसाद सिटौलाले स्वागत मन्तव्य राख्दै विद्यालयको १४ वर्षे यात्रा अभिभावक र विद्यालयबीचको अटुट सम्बन्धको परिणाम भएको बताउनुभयो।

यस्तै, सञ्चालक समिति सदस्य बुद्धि बहादुर थापाले विद्यालयले स्थापनाकालदेखि भूकम्प र कोभिड–१९ जस्ता कठिन चुनौतीहरूलाई चिर्दै आजको उचाइ हासिल गरेको स्मरण गर्नुभयो।

सोही अवसरमा विद्यालयको आधिकारिक गीत (School Song) को औपचारिक विमोचन गरिएको थियो। गीतका गीतकार मधुस नेउपाने, सङ्गीतकार केशव बादी र रचनाकार कृष्ण पराजुलीलाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण ‘पाथीभरा एकेडेमी सिजन–वान सिङ्गिङ आइडल’ प्रतियोगिता रह्यो। जसमा कक्षा ३ की छात्रा दिपसना कार्कीले उपाधि जित्न सफल भइन्। प्रतियोगितामा स्नेहा केसी प्रथम उपविजेता र एभलिन थापा द्वितीय उपविजेता घोषित भए। यस्तै, कृष्टभ थापा मगरलाई सम्भावित गायक र आर्शिया भुजुलाई ‘मेलोडी भ्वाइस’ को उपाधि प्रदान गरियो।

सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नृत्य, कराते र समसामयिक विषयमा नाटक समेत प्रदर्शन गरेका थिए।

विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने अभिभावकहरू पारस श्रेष्ठ र निशा प्रधानलाई विशेष सम्मान गरिएको थियो। यस्तै, स्काउट शिक्षकद्वारा आयोजित ‘पापड खाने’ रोचक प्रतियोगितामा अभिभावक दुर्गा प्रसाद दाहाल प्रथम हुनुभयो।

शिक्षण तर्फ १० वर्षदेखि निरन्तर कार्यरत शिक्षिका शृशा कवालाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरियो। शैक्षिक सत्र २०८१ मा नियमित उपस्थित हुने शिक्षिकाहरू कमला लिम्बू, भावना बुढाथोकी, सम्झना बानिया, अञ्जु तिम्सिना, यसोदा उप्रेती र सुशिला सुवाललाई पनि पुरस्कृत गरियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष हेमन्त सिटौलाले आगामी दिनमा गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको चौतर्फी विकासका लागि नवीन योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन तथा संयोजनमा शैक्षिक संयोजक शर्मिला प्रधानाङ्ग, मन्टेश्र्वरी संयोजक लक्ष्मी प्रधानाङ्ग, स्कुल इन्चार्ज कल्पना ओलीलगायतको सक्रिय भूमिका रहेको थियो।