जेन्जीले होइन, आन्दोलनमा घुसपैठ गर्ने अपराधीले देश जलाएका हुन् : अध्यक्ष ओली

झापा, ३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौमा भएको आगजनी र तोडफोडका घटनामा ‘जेनजी’ पुस्ताको संलग्नता नभई अपराधीहरूले त्यसको फाइदा उठाएको दाबी गर्नुभएको छ।

झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, “नेपाल शिक्षक सङ्गठन भनेजस्तै जेनजी एउटा उमेर समूह हो। यो समूहका युवा पुस्ताको आन्दोलनमा अपराधीहरूले घुसपैठ गरेर मुलुक जलाएका हुन्। शिक्षक र विद्यार्थीले देश जलाएका होइनन्।”

शिक्षकहरूका मागका विषयमा चर्चा गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा पटक–पटक वार्ताका लागि आह्वान गरे पनि शिक्षक सङ्गठनहरू नआएको बताउनुभयो। “म प्रधानमन्त्री हुँदा शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई जिम्मा दिएको थिएँ र वार्ताका लागि पटक–पटक आह्वान गरेको थिएँ,” उहाँले भन्नुभयो, “तर उहाँहरू वार्तामा आउनुको साटो सरकार र प्रधानमन्त्रीको विरोधमा मात्र उत्रिनुभयो, जसले गर्दा समस्याको सही निकास निस्कन सकेन।”
आन्दोलनको मार्ग र संवाद गर्ने पक्ष प्रष्ट हुनुपर्नेमा जोड दिँदै ओलीले नेपाली कांग्रेस र माओवादी निकट शिक्षकहरूले राजनीतिक पूर्वाग्रह राखेका कारण आन्दोलन निष्कर्षमा पुग्न नसकेको आरोप लगाउनुभयो।

चार दिनको काठमाडौँ बसाइपछि आज पुनः आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) आइपुग्नुभएका ओली दमकका विभिन्न कार्यक्रममा व्यस्त रहनुभएको छ। नेकपा एमाले झापा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार ओली आज तीनवटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा अध्यक्ष ओलीले आफ्नो क्षेत्रका विभिन्न समुदाय र पेशागत समूहहरूसँगको भेटघाटलाई तीव्र पार्नुभएको छ।